काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले मात्रै देश परिवर्तनको नेतृत्व गर्न सक्ने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले महाधिवेशनलाई नेतृत्व चयन गर्ने प्रक्रियामा मात्र सीमित नगरी पार्टीको विगत, वर्तमान र आगामी बाटोबारे गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।
‘बदलिएको कांग्रेसले यो देश पनि बदल्छ भन्ने विश्वास लिएर यो महाधिवेशनबाट जानुपर्ने छ। यो सफल पारेर ऊर्जा लिएर जानुपर्ने छ,’ उनले भने।
देशको पछिल्लो अवस्थाका कारण महाधिवेशनलाई उत्सवका रूपमा मात्र लिन सक्ने अवस्था नरहेको उनले बताए। रसुवामा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको स्मरण गर्दै थापाले यस्तो अवस्थामा महाधिवेशन गर्न आफूहरूलाई सहज नभएको बताए।
‘रसुवाको बाढीले हजारौँ नागरिक हामीमाझ हुनुहुन्न। यो महाधिवेशन गर्न मन थिएन। तर संविधान र कानुनको परिधिका कारण बाध्य भयौँ,’ उनले भने।
थापाले पछिल्ला राजनीतिक घटनाक्रमप्रति कांग्रेसले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताए। लामो समय एउटै नेतृत्व, एउटै पद र सत्ताको वरिपरि घुमिरहेको राजनीतिले सबै दल र नेता उस्तै हुन् भन्ने धारणा जनतामा विकास भएको उनको भनाइ थियो।
उनले नेपालको राजनीतिलाई ‘म्युजिकल चियर’ जस्तो बनाइएको टिप्पणी गरे। प्रधानमन्त्री र मन्त्री बन्ने तथा पुनः त्यही पदमा दोहोरिने प्रवृत्तिले राजनीतिक नेतृत्वप्रतिको जनविश्वास कमजोर बनाएको उनले बताए।
भदौ २३ र २४ का घटनालाई पनि यही असन्तुष्टिको परिणामका रूपमा व्याख्या गर्दै थापाले कांग्रेसले त्यसबाट पाठ सिक्नुपर्ने बताए। सामाजिक सञ्जालदेखि समाजका विभिन्न तहसम्म अत्यधिक राजनीतीकरण हुँदा असन्तुष्टि र ध्रुवीकरण बढेको उनको भनाइ थियो।
थापाले विगतका राजनीतिक उपलब्धिको चर्चा गरेर मात्र अबका चुनौती सामना गर्न नसकिने बताए। राजनीतिक परिवर्तन भए पनि त्यसअनुसार आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको विषयमा कांग्रेसले गम्भीर समीक्षा गर्नुपर्ने उनले बताए।
‘३५ वर्षदेखि युद्ध किन व्यहोर्यौँ? शान्ति प्रक्रियामा पनि यही भयो। यही ३५ वर्षभित्र सबै गाउँ रित्तियो। किन रोजगारी भएन? युवा किन पलायन भयो?’ उनले प्रश्न गरे।
युवालाई स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्ने, गाउँलाई उत्पादन तथा आर्थिक गतिविधिसँग जोड्ने र अर्थतन्त्रलाई गतिशील बनाउने स्पष्ट नीति कांग्रेसले बनाउनुपर्ने उनले बताए।
लोकतन्त्रलाई नागरिकको दैनिक जीवनसँग जोड्नुपर्नेमा जोड दिँदै थापाले भने, ‘डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ। पुल ढल्यो भने विश्वास ढल्छ।’
उनले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको आकांक्षाबीच कांग्रेसले पुलको काम गर्नुपर्ने बताए। सिद्धान्तमा सम्झौता गरेर तत्कालको राजनीतिक लाभ लिन नहुने उल्लेख गर्दै उनले निर्वाचनमा हार–जितभन्दा मूल्य र मान्यतामा आधारित राजनीति महत्वपूर्ण रहेको बताए।
निजी क्षेत्रलाई कर उठाउने स्रोतका रूपमा मात्र नभई उत्पादन, रोजगारी र आर्थिक विकासको साझेदारका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो।
खुलामञ्च पुनः सञ्चालनलाई जनतासँग संवाद गर्ने राजनीतिक संस्कारसँग जोड्दै थापाले नेता र नेतृत्वलाई प्रश्न गर्न सकिने खुला वातावरण आवश्यक रहेको बताए। पार्टीभित्र पनि फरक मत राख्ने र नेतृत्वलाई प्रश्न गर्ने वातावरण बनाउनुपर्ने उनले बताए।
पूर्वसभापति शेरबहादुर देउवा महाधिवेशनमा सहभागी नभएको प्रसंग उठाउँदै थापाले कांग्रेसभित्र पुस्तान्तरण र नेतृत्व परिवर्तनबारे स्पष्ट धारणा बनाउनुपर्ने बताए। साथै, कांग्रेसबाट बाहिरिएका नेताहरूको विषयमा पनि अब स्पष्ट रूपमा छलफल गर्नुपर्ने उनको भनाइ थियो।


