काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार जारी खेलमा नेपालले आयोजक ओमानलाई २६४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको हो।
नेपालको इनिङ्समा पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए भने करण केसीले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै मात्र १६ बलमा ४० रन जोडेपछि नेपालको स्कोर प्रतिस्पर्धात्मक बनेको हो।
रोहितले ६७ बलमा एक छक्का र तीन चौका प्रहार गरे। उनले ओमानविरुद्धको यस खेलमा अर्धशतक बनाउँदै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १३औँ अर्धशतक पूरा गरे। यही शृंखलाअन्तर्गत आइतबार क्यानडाविरुद्धको खेलमा उनले शतक प्रहार गरेका थिए।
नेपालका ओपनर अर्जुन कुमालले ४० रन बनाए। ५९ बलको सामना गरेका उनले चार चौका प्रहार गरे। आफ्नो छैटौँ एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका अर्जुन पहिलो अन्तर्राष्ट्रिय अर्धशतक बनाउनबाट १० रनले चुके।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका इशान पाण्डेले ५५ बलमा चार चौकासहित ३७ रन जोडे। ओपनर आसिफ शेख चार रनमा आउट भएपछि अर्जुन र इशानले तेस्रो विकेटका लागि महत्वपूर्ण ६४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले।
त्यसपछि रोहित पौडेल र बसिर अहमदले पनि नेपालको स्कोर उकास्न महत्वपूर्ण साझेदारी गरे। बसिरले ५० बलमा तीन चौकासहित ३७ रन बनाए। रोहित र बसिरबीच ८६ रनको साझेदारी भएको थियो।
अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले १७ बलमा २२ रन बनाए भने सन्दीप जोराले १२ बलमा १० रन जोडे। नन्दन यादव सात रनमा अविजित रहे।
तर, नेपालको इनिङ्सको अन्त्यतिर करण केसीले देखाएको आक्रामक ब्याटिङ विशेष रह्यो। आठौँ नम्बरमा आएका करणले १६ बलमा चार छक्का र एक चौका प्रहार गर्दै ४० रन बनाए। उनले ४९औँ ओभरमा लगातार तीन छक्का प्रहार गर्नुका साथै एक चौका पनि हिर्काए। उक्त ओभरमा नेपालले २५ रन जोडेको थियो।
नेपालले अतिरिक्त पाँच रन पाएको थियो।
जारी लिग–२ शृंखलामा नेपाल र ओमान दुवैले आफ्नो दोस्रो खेल खेलिरहेका छन्। यसअघि पहिलो खेलमा ओमानले क्यानडालाई ४१ रनले पराजित गरेको थियो भने नेपालले क्यानडालाई २४ रनले हराएको थियो।
अब ओमानले जितका लागि २६४ रन बनाउनुपर्नेछ। नेपालको बलिङ प्रदर्शनले खेलको नतिजा निर्धारण गर्नेछ।


