प्रधानमन्त्री शाहद्वारा शुभकामना व्यक्त

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा लुम्बिनीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन्।

एनपीएल सुरु हुन लागेको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाली क्रिकेट टोली, आयोजक तथा प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय खेलाडीलाई शुभकामना दिएका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन्।

‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ,’ उनले लेखेका छन्, ‘केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ। लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्।’

यस संस्करणमा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

यसपटकको एनपीएलमा अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर र बङ्गलादेशका शाकिब अल हसनजस्ता चर्चित अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुँदैछन्। उनीहरूको सहभागिताले प्रतियोगिताप्रति थप आकर्षण बढाएको छ।

विजेताले डेढ करोड रुपैयाँ पाउने

प्रतियोगिताको तेस्रो संस्करणमा विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। शीर्ष चार टोलीलाई प्रदान गरिने पुरस्कारमा कुल तीन करोड रुपैयाँ खर्च हुनेछ।

गत संस्करणको विजेता लुम्बिनी लायन्सले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो। यसपटक विजेताको पुरस्कार रकम गत संस्करणको तुलनामा ४० लाख रुपैयाँले बढाइएको छ। लुम्बिनीले गत संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

यस संस्करणमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता, निर्णय समीक्षा प्रणाली (डीआरएस) प्रविधि, विदेशी खेलाडी अनुबन्धमा थप सहजता तथा कीर्तिपुरस्थित मैदानका सुविधामा गरिएको सुधारलाई महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ।

प्रतियोगिताले नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक स्तर, व्यावसायिक विकास र अन्तर्राष्ट्रिय खेलाडीसँग नेपाली खेलाडीको अनुभव आदानप्रदानमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version