काठमाडौँ: नेपाल राष्ट्र बैंकले दशैका लागि सर्वसाधारणलाई नयाँ नोट आजदेखि वितरण शुरु गरेको छ ।
नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आजबाट सर्वासरधरणलाई वितरण गर्ने गरि तयारी गरेको राष्ट्र बैंकका सह प्रबक्ता गोविन्द प्रसाद नागिलाले बताए ।
प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्मको नोट साट्न पाउने व्यवस्था गरिएको उनले जानकारी दिए ।
एक व्यक्तिले १०० दरको एक बन्डल, ५, १०, २० र ५० दरका दुई/दुई बन्डल गरि जम्मा २७ हजार बराबरको नयाँ नोट सटही गर्न पाउने व्यवस्था मिलाएको उनले बताए ।
उनका अनुसार सरकारी स्वामित्व भएका कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका तोकिएका शाखाहरुबाट नोट सटही हुनेछ। ‘ति तीन बैंकका काठमाडौँ उपत्यकाका लगभग २० शाखा कार्यालयबाट सर्वसाधारणले नोट लिन सक्नेछन्’ उनले भने।
राष्ट्र बैंकका अनुसार, सर्वसाधारणले नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नोट सटही गर्न सक्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्काभित्र रहेका शाखाहरुले पनि नोट सटहीको सुविधा उपलब्ध गराउने छन् ।
साथै, राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयबाट पनि बैंकिङ समयमा नोट सटही गरिने उनले जानकारी दिए। उपत्यका बाहिरका उपभोक्तालाई नोट सटहीको व्यवस्था गर्न राष्ट्र बैंकका कार्यालयहरु बिराटनगर, जनकपुर, बिरगंज, पोखरा, नेपालगंज तथा धनगढीबाट पनि वितरण गर्ने उनले बताए ।
उनले भने यस वर्ष अन्य बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणला नयाँ नोट वितरण गर्नेको लागि नयाँ नोट नदिने बताए ।
यधपी, राष्ट्र बैंकले ति बैंक तथा वित्तीय संस्थालाई बैंकिंग कारोवारको लागि भने नयाँ नोट दिने नागिलाले बताए ।
उनले भने- ‘यो वर्ष पनि लगभग १३ अर्वको हाराहारीमा नयाँ नोट सटही हुने अनुमान गरिएको छ । गत वर्ष पनि १३ अर्बको सटही भएको थियो । गत वर्ष तीन बैंकहरुका शाखाबाट प्रतिव्यक्ति २० हजारसम्म साट्न पाउने व्यवस्था भएकोमा यो वर्ष २७ हजार पुर्याइएको हो।’
सर्वसाधारणले असोज २९ गतेसम्म नयाँ नोट सटही गर्नसक्ने उनले जानकारी दिए ।
