महेन्द्रनगर : कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७४औं दिनमा सार्वजनिक प्रतिवेदनप्रति उनका बाबु आमाले असन्तुष्टि व्यक्त गरेका छन्।

‘हामीले घटनाको सबै अनुसन्धान भइ अपराधीका विषयमा प्रष्ट प्रतिवेदन आउँछ भन्ने सोचका थियौं’, निर्मलाका बुबा यज्ञराज पन्तले भने, ‘छानबिन समितिको प्रतिवेदनमा उल्लेख कुरा सबैलाई जानकारी नै भएका हुन्, हाम्रा लागि त्यो प्रतिवेदन न हर्स न विस्मात झंै भएको छ।’ यो समाचार अन्नपुर्ण पोस्टबाट साभार गरिएको हो ।

‘प्रहरीले प्रमाण नष्ट गरेर अपराधी लुकाउन खोजेको सबैले भन्दै आएको कुरा हो’, उनले भने, ‘ प्रतिवेदनमा प्रहरीले प्रमाण नष्ट गरेको किटान गरी उनीहरूलाई वर्खास्त गर्नुपर्ने भन्ने समेत लेख्न सकेको देखिदैन।’

‘छानबिन समितिको प्रतिवेदनले केही कुरा सार्वजनिक होला भनेर पर्खाइमा थियौं’, पन्तले भने। ‘अब झनै आशा गुम्यो।’

सरकारले शंकाको घेरामा रहेका मानिसलाई सुरक्षा दिएर न्याय माग्ने जनतालाई दुःख दिएको उनको आरोप छ।

‘अनुसन्धानका क्रममा लापरवाही गर्ने जो कोहीलाई कारबाही भएको हेर्ने मन छ’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘छानबिन समितिसहितका सबैले प्रष्ट रूपमै प्रहरीले लापरवाही गरेको र प्रमाण नष्ट गरेको प्रतिवेदन बुझाइ सकेपछि पनि किन उनीहरूमाथि कारबाही भएको छैन।’

एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई हत्याराका बारे सबै कुरा थाहा हुन सक्ने भन्दै सरकारले अझै पनि न्याय दिन चाहे गहन अनुसन्धान गर्नुपर्ने बताइन्। ‘छोरीका हत्यारा पक्राउ गरी न्याय देउ भन्दाभन्दा म थाकिकसें’ उनले भनिन्, ‘प्रतिवेदनबाट समेत अपराधीका विषयमा प्रष्ट आउला भन्ने सोंचेको थिए, उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनपछि झनै न्यायको आश मर्‍यो।’

छानबिन समितिको प्रतिवेदनले नौलो विषय नसमेटिको कञ्चनपुरवासीको भनाइ छ। ‘हामीले जे कुरा उठाउँदै आएका छौं, त्यही उल्लेख गरी प्रतिवेदन बनाइएको छ’, दबाबमूलक संघर्ष समितिका संयोजक हेलन श्रेष्ठले भनिन्, ‘छानबिन समितिले नै अनुसन्धानमा प्रहरीको चरम लापरबाही, प्रमाण नष्ट गरेकोलगायतका कुरा बुझाइ सकेपछि किन उनीहरूलाई दोषी सरह कारबाही नगरेको ? ’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version