काठमाडौ: प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति(सालेस)ले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज अपराह्न बसेको समितिको बैठकले यही असोज १८ गतेको समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरोकारवालाले प्रतिबद्धता जाहेर गरेअनुसार सो मूल्यलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुले सुलभ रुपमा यात्रा गर्न सक्ने गरी बस, माइक्रोबस तथा यातायात साधन र हवाई यातायातलाई सर्वसुलभ बनाई थप कडाइका साथ लागू गर्न समेत सरोकार पक्षलाई निर्देशन दिएको छ ।

त्यसैगरी समितिको यही असोज १५ को निर्णयानुसार खाद्यलगायत दैनिक उपभोग्य वस्तुको सुपथ मूल्यमा उपभोक्ताले प्राप्त गर्ने गरी व्यवस्थापन गर्न र अस्वाभाविक मूल्यवृद्धि, एकाधिकार गर्ने र उपभोक्ता ठगी गर्नेलाई कडाइका साथ कारवाही गर्न थप निर्देशन दिएकोे छ ।

समितिका सभापति भरतकुमार शाहले सालेसअन्र्तगत चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिले विभिन्न सुझावसहित आज समितिसमक्ष प्रस्तुत गरेको प्रतिवेदनमाथि थप अध्ययन गरी कार्यान्वयन गर्ने जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version