काठमाडौँ: दशैंका बेला सार्वजनिक यातायातको अभाव नहोस् भनेर नेपाल प्रहरीले आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
उक्त बस सेवा अष्टमी, नवमी र दशमी गरी तीन दिनसम्म निःशुल्करुपमा सञ्चालन हुने प्रहरीले जनाएको छ ।
बस सेवा उपत्यकाको तीनवटा रुटमा सञ्चालन हुनेछन् । दशैंमा सार्वजनिक यातायात कम चलेपछि यात्रुको सहजताका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले जनाइएको छ ।
प्रहरी अनुसार, पहिलो रुटको बसले कलंकीबाट एकान्तकुना, पुल्चोक, माइतीघर हुँदै पुतलीसडक, रत्नपार्कसम्म बस चलाउने छ । यो बसले रत्नपार्कबाट त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै सोही रुटमा पुनः परिक्रमा गर्नेछ ।
यसैगरी दोस्रो रुटको बसले कोटेश्वरबाट शहीदगेट हुँदै महाराजगञ्ज नारायणगोपाल चोक, गौशाला हुँदै मैतीदेवी परिक्रमा गरी सोही रुटमा फर्कनेछ ।
त्यस्तै नयाँ बसपार्कबाट चाबहिल, नक्साल, लैनचौर, सोह्रखुट्टे, नयाँ बजार, बालाजु चोक हुँदै बसपार्क पुग्नेछ । चक्रपथको बाहिरी र भित्र दुवै स्थानको सर्वसाधारणका लागि सहज होस् भन्ने हिसाबले रुट तय गरिएको नेपाल प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
दशैँमा सशस्त्रको निःशुल्क बस सेवा
पोखरा: नेपालीको महान चाड बडादशँैको अवसरमा सशस्त्र प्रहरी बल तालीम केन्द्र लामापाटनले मङ्गलबारदेखि पोखरामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
दशैँको अवसरमा बजारमा सार्वजनिक यातायातका साधान न्यून भएका कारण सर्वसाधारणलाई सुविधा पु¥याउने उद्देश्यका साथ फूलपातीका दिनदेखि कात्तिक २ गते टीकाका दिनसम्म बस सञ्चालन गरिने तालीम शिक्षालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।
सशस्त्र प्रहरी बलको व्यानरसहितको लामापाटनबाट बिहान १० बजेदेखि छुट्ने दुई बस पोखराका अमरसिंह, मुस्ताङचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सिर्जनाचोक, न्यूरोड, चिप्लेढुङ्गा, नदीपुर, बगर, रानीपौवाको रुटमा दिउँसो ४ बजेसम्म चल्ने बताइएको छ ।
दशैँको अवधिभर हुनसक्ने कुनै पनि जोखिमका लागि तालीम शिक्षालयले एम्बुलेन्सको निःशुल्क सेवासमेत प्रदान गर्ने योजना रहेको बताउँदै उनले एम्बुलेन्स आवश्यकताका लागि तालीम शिक्षालयको हटलाइन नं ९८५१२७२०६० र ९८५१२७२०१८ मा फोन गर्न सकिने बताए ।
