बर्दिवास : राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका शीर्ष नेताले संविधान संशोधनको विषय चाँडै टुङ्ग्याउन सरकारसँग माग गरेका छन् ।

महोत्तरीको जलेश्वरमा आज सम्पन्न एकदिने पार्टी प्रशिक्षणमा राजपा नेपालका चार जना अध्यक्ष मण्डलका सदस्यले संविधान संशोधनविना मधेश मुद्दाको सम्बोधन पूरा नहुने भएकाले यथाशक्य चाँडै यो विषय टुङ्ग्याउन सरकारसँग माग गरेका हुन् ।

नेता शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजेन्द्र महतो र राजकिशोर यादवसहितका नेताले नेकपाका शीर्ष नेताले संविधान संशोधन गर्ने वचन दिए पनि त्यसको कार्यान्वयनमा उदासिनता देखाएको गुनासो गरे ।

नेता महतोले संविधान संशोधन नभएसम्म हँसिलो अनुहारले बोलेर समस्याले निकास नपाउने बताए । “प्रधानमन्त्री स्वयं संविधान संशोधनको कुरामा आफू खुला रहेको त बताउनुहुन्छ”, उनले भने, “तर संशोधन प्रक्रिया अघि बढाउने जाँगर देखाउनुहुन्न ।”

नेता महेन्द्रप्रसाद यादव र राजकिशोर यादवले संविधान संशोधनमा भएको अस्वभाविक ढिलाइले सरकार र दलबीच विश्वासको सङ्कट बढ्ने र स्थिति असामान्य हुनसक्नेतर्फ सरकारको दृष्टि पुगोस् भने ।

सो अवसरमा राजपा नेपालका शीर्ष नेताले प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका आफ्ना पार्टीका नेतालाई जनपक्षीय काममा लाग्न र मधेश र मधेशीको समृद्धिको कुरालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version