काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा कृषि उद्योग चलाइरहेका आठ उद्यमीलाई आज सम्मान गरेको छ ।

विदेशमा सीप सिकेर नेपालमा आई उदाहरणीय काम गरेका युवाका माध्यमबाट अन्यलाई सरकारका तर्फबाट प्रोत्साहन दिने उद्देश्यले पुरस्कार वितरण गरिएको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए ।

सर्वाेत्कृष्ट उद्यमी पुरस्कारतर्फ यूएई र इजरायलमा दुई दुई वर्ष काम गरी नेपाल फर्केर आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी चलाइरहेका लमजुङका सोनाम लामालाई रु एक लाखसहित श्रममन्त्री गोकर्णराज विष्टले सम्मान गरेका हुन् ।

त्यसैगरी उत्कृष्ट उद्यमीतर्फ यूएईमा साढे दुई वर्ष काम गरी राष्ट्रिय अलैँची कृषि कम्पनी प्रालि सञ्चालन गरिरहेका बागलुङका देवीप्रसाद खत्री, कतारमा आठ वर्ष काम गरी मनकामना होटल एण्ड भुलभुले नमुना कृषि फार्म सञ्चालन गरिरहेका खोटाङका हरि लुइँटेल, साउदी अरबमा पाँच वर्ष काम गरेर थोपा सिँचाइ प्रालि सञ्चालन गरिरहेका काठमाडौँका खोजराज कटुवाल, साउदी अरबमा १२ वर्ष काम गरी वैशाली कृषि तथा बाख्रा फार्म सञ्चालन गरिरहेका पर्वतका गणेश पुन मगर, तीन वर्ष साउदीमा काम गरी प्रेसिका एग्री फार्म सञ्चालन गरिरहेका बर्दियाका प्रेमप्रसाद लामिछाने, यूएईमा काम गरी पायोनियर एकीकृत कृषि केन्द्र सञ्चालन गरिरहनुभएका रुपन्देहीका द्रोणप्रसाद न्यौपाने र इजरायलमा एक वर्ष काम गरी नादा एग्रो एण्ड सिड प्रोडक्सन सञ्चालन गरिरहेका बर्दियाका रामदीपाल थारुलाई रु ५०–५० हजारसहित सम्मान गरिएको थियो ।

पुरस्कारका लागि २३ जनाको आवेदन परेकामा २० जनालाई छनोट गरी रोजगारीको सिर्जना, पूँजी लगानी, स्थानीय साधन स्रोत र प्रविधिको उपयोग, आयात प्रतिस्थापन÷निर्यातमूलक उद्योगलगायत आधार राखिएको थियो । सरकारले विसं २०७३ मा विदेशमा काम गरी स्वदेशमा फर्केका उद्यमीलाई पुरस्कारको घोषणा गरेको थियो ।

सो अवसरमा मन्त्री विष्टले सरकारले रोजगारीको अवसर सिर्जनाका लागि सम्भाव्यता अध्ययन शुरु गरिसकेको जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version