जिरी: आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ) बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ । गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए ।

आयोजना प्रभावित क्षेत्रका आधारमा बाँडफाँड हुने शेयरमा क वर्गको क्षेत्रका आवेदनकर्ताले कम्तिमा १०२ कित्ता, ख वर्गकाले ४८ कित्ता र ग वर्गकाले न्यूनतम ३४ कित्ता पाउने सम्भावना रहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए।

आवेदकको बाँकी रकम अबको पाँच दिनभित्र आवेदन भरेको खातामार्फत नै फिर्ता हुने उनले बताए।

आयोजनाले गत साउन १४ गतेदेखि भदौ १६ गतेसम्म दोलखावासीका लागि शेयर निश्काशन गरेको थियो । पहिलो चरणको समयावधिमा पनि शेयर आवेदनकर्ताको भीड नघटेपछि थप पाँच दिन शेयर आवेदन भर्ने व्यवस्था मिलाइएको थियो ।

शेयर आवेदन दिएकामध्ये १० जनाले दुई स्थानबाट आवेदन दिएको पाइएको र उनीहरूको आवेदन रद्द हुने प्रवक्ता न्यौपानेले बताए। कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि एक करोड पाँच लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

सर्वसाधारणलाई बिक्री गरिने दुई करोड ६४ लाख ७५ हजार कित्तामध्ये एक करोड पाँच लाख ९० हजार कित्ता स्थानीयलाई बिक्री गरिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version