काठमाडौँ: नेपाली निर्माण व्यवसायीहरु सहभागीहुनै नपाउने गरी एशियाली विकास बैंक लगायतका दातृ निकायले टेण्डर प्रक्रिया आह्वान गर्न थालेकोमा नेपाल निर्माण व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ ।
महासंघले मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरी एडिबी लगायतका दातृ निकायहरुको ऋण सहयोगमा आह्वान हुने अरबौंको ठेक्काहरुमा नेपाली व्यवसायीले नै प्रतिस्पर्धा गर्नै नपाउनु कुनै पनि दृष्टिकोणबाट जायज नभएको बताएको छ ।
स्वदेशी निर्माण व्यवसायीलाई अन्तराष्ट्रिय निर्माण कार्य गर्नको निमित्त क्षमतावान् बनाई निर्माण व्यवसायको क्षेत्रमा आत्मनिर्भरता बढाउनु पर्नेमा त्यसको ठिक विपरीत राष्ट्रले ऋण व्यहोर्नु पर्ने र राष्ट्रबाट पुँजी विदेशिने किसिमले भैरहेको कामकार्वाही प्रति महासंघले कडा विरोध जनाएको छ ।
दातृ निकायको ऋण सहयोगमा सञ्चालन हुने आयोजनामा नेपाली निर्माण व्यवसायीको मापदण्ड नै नपुग्ने गरी प्रावधान राखिएपछि नेपालकै निर्माण कार्यमा नेपाली व्यवसायी सहभागी हुन नपाउने अवस्था आएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।
नेपाली निर्माण व्यवसायीलाई नेपालमै हुने ठेक्कापट्टामा वञ्चित गरेर विदेशीलाई मात्रै ठेक्का सुम्पिन सुनियोजित रुपमा प्रावधान बनाइएको भन्दै महासंघले आफ्नै देशमा निस्केका ठेक्कामा जोइन्ट भेन्चर्सका रूपमासमेत कामगर्न नसक्ने प्रावधान कसको इसारामा के का लागि राखिएको हो प्रष्ट पार्न सरोकारवाला निकाय समक्ष जोडदार माग गरेको छ ।
करीब १८ अर्बको लागतमा निर्माण हुने ८७ किलोमिटर लामो कञ्चनपुर कमला सडक खण्डका लागि नेपाली निर्माण व्यवसायीहरुले प्रतिस्पर्धा नै गर्न नपाउने गरी एशियाली विकास बैंकले टेण्डर आह्वान गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यस अघि वुटवल नारायणगढ सडक खण्डको टेण्डरमा पनि विदेशीकम्पनीहरु मात्र सामेल हुने गरी प्रक्रिया अघि बढाइएको महासंघले जनाएको छ ।
यसअघि नेपाल सरकार, सडक विभाग, आयोजना निर्देशनालय (एडिबी) द्धारा टेण्डर आह्वान गर्दा सिङ्गो खण्डलाई बढी भन्दा बढी स्वदेशी निर्माण कम्पनी सहभागिता हुने गरी साना तथा मझौला आकारका प्याकेज बनाई टेण्डर आह्वान गर्ने प्रचलन रहेको स्मरण महासंघले गराएको छ ।
देशमा निर्माण हुन लागेको ठूला ठूला पुर्वाधार विकासका परियोजनाहरुमा नेपाली निर्माण व्यवसायीहरु पनि विदेशीकम्पनीहरु सँग साझेदार गरि सहभागी हुन पाएको खण्डमा नेपाली निर्माण व्यवसायीहरुको प्रबद्र्धन तथा विकास हुने महासंघका अध्यक्ष रवि सिंहको भनाइ छ ।
महासंघका अध्यक्ष सिंहले स्वदेशी निर्माण व्यवसायीहरु माझ कामगर्ने अहिले सुअवसर आएपनि सरकारले त्यसको सुदपयोग गर्न नसकेको बताए ।
अव्यवहारिक ऐननियमका कारण व्यवसायीहरु ठूलो मारमा परेको उनको भनाइ थियो ।