काठमाडौं : सत्तारुढ नेकपा सचिवालय बैठकले सातवटै प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिएको छ। प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै टुंगो लगाइसके पनि सदस्यको टुंगो लागेको थिएन। मंसिर ७ को सचिवालय बैठकले प्रदेश कमिटी सदस्यको प्रारम्भिक चयन लगाए पनि मापदण्डअनुसार भए नभएको अध्ययन गरेर बुधबारको बैठकले टुंगो लगाएको हो। सबै प्रदेश सदस्यको नाममै केन्द्रित भएको बैठकले प्रदेश एकीकरणलाई अन्तिम टुंगो लगाएका हुन्।
सम्बन्धित प्रदेशमा गृहजिल्ला भएका पार्टीका केन्द्रीय सदस्य भने स्वतः पदेन सदस्यका रूपमा कमिटीमा रहने व्यवस्था छ ‘हामीले ७ वटै प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिएका छौं’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सबै सदस्यको नाम मापदण्डका आधारमा भए नभएको हेरेर अन्तिम टुंगो लगाएका छौं।’ टुंगो लगाइएको प्रदेश कमिटी सदस्यको नाम भने नेकपाले बिहीबार सार्वजनिक गर्ने जनाएको छ। ‘हामी बिहीबार नाम सार्वजनिक गर्छाैं’, श्रेष्ठले बैठकपछि भने।
सातवटै प्रदेशमा गरी १३ सय ८७ नेताले जिम्मेवारी पाउने छन्। नेकपा विधानअनुसार प्रदेश १ मा २ सय ७, प्रदेश २ मा २ सय १५, प्रदेश ३ मा २ सय १७, गण्डकी प्रदेशमा १ सय ८७, प्रदेश ५ मा २ सय ३, कर्णाली प्रदेशमा १ सय ७५ र सुदूरपश्चिम प्रदेशमा १ सय ८३ सदस्यीय प्रदेश कमिटी गठनको व्यवस्था छ।