काठमाडौँ: नेपाली सेनामा नयाँ प्रधानसेनापति तथा महारथी हुने वित्तिकै हुने गरेको दक्षिणी छिमेकी मुलुक भारतको विदेश भ्रमण यसपाली भने केहि पछि धकेलिने निश्चित प्राय: बनेको छ।
सम्बद्ध स्रोत र अधिकारीहरुसंगको कुराकानीमा प्रधानसेनापति पूर्णचन्द्र थापाको भारत भ्रमणको टुंगो अझै लाग्न सकिरहेको छैन।
थापा प्रधानसेनापतिमा यही भदौ २४, २०७५ गते मन्त्रिपरिषद्को निर्णय अनुरुप नियुक्त भएका थिए। त्यसयता प्रधानसेनापति थापा कुनै पनि औपचारिक विदेश भ्रमणका लागि निस्किएका छैनन्।
यस बखत उनले आन्तरिक संगठन सुधारका काम गरेका छन् भने विभिन्न ब्यारेक, गण तथा पृतनाहरुको निरीक्षण भ्रमण गर्ने क्रम अझै जारी छ।
हालै मात्रै सेनाभित्र भर्ना छनोट प्रक्रियामा भएको अनियमितताको सफल अनुसन्धान र कारवाही प्रक्रियाले त सेनाभित्र उनले लिएका कदम अन्ततः सकारात्मक प्रभाव र नजिरको रुपमा रहने विश्वास गरिएको छ।
यसको छनक आफु प्रधानसेनापति भएको केहि हप्ता दिनमा उनले अहिलेसम्म कोही पनि पूर्व प्रधानसेनापतिहरुले नगरेको पत्रकार सम्मेलन स्वयं आफैले जंगी अड्डाभित्र डाकेर दिइसकेका थिए जहाँ उनले खुलस्त भनेका थिए- ‘सेनाभित्र यदाकदा भ्रष्टाचारका कुराहरु सुनिने गरेको छ त्यसको जरैसम्मको उपचार गर्नेछु।’
सेनाभित्र आन्तरिक संगठन सुधार गरिरहेका प्रधानसेनापति यति खेर भने यसघिका जस्तै पूर्व प्रधानसेनापतिहरुले गरेका मुख्य गरी भारत, चीन अमेरिका र बेलायतको भ्रमणका तयारी अहिले जंगी अड्डामा हुन सकेको छैन।
सेनाका प्रवक्ता तथा सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयका निर्देशक तथा सहायक रथी गोकुल भण्डारीका अनुसार प्रधानसेनापतिको भारत भ्रमणको टुंगो लागिसकेको छैन। “चिफसापको भारत भ्रमणबारे अहिले केहि भन्न सक्नेअवस्था छैन्न तर उहाँको भ्रमण हुन्छ र समयमै हुन्छ,” उनले भने।
तयारीका बारेमा सोध्दा उनले भने, ‘कहिले र कुन मितिमा भ्रमण हुन्छ एकिन भन्न अहिले नै सकिन्न, तयारीहरु हुँदै छन् तर बाहिर आएजस्तो भ्रमणमा निस्कनका लागि ढिलो भएको र राजनीतिक कारणहरु भने कुनै छैनन्।’
पूर्वचिफसाप राजेन्द्र क्षेत्रीज्यूको पनि नोभेम्बर-डिसेम्बरमै भारत भ्रमण भएको थियो अहिले पनि त्यहि नै समय भएको छ, भारत भ्रमण जाने बारेमा कुनै ढिलो भैसकेको छैन, प्रबक्ता भण्डारीले भने।
पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री आफु प्रधानसेनापति भएको पाँच महिनापछि आफ्नो पहिलो औपचारिक भारत भ्रमण माघ १८, २०७२ सालमा गरेका थिए। क्षेत्री भदौ २४, २०७२ सालमा प्रधानसेनापति नियुक्त भएका हुन् ।
उनी त्यतिबेला नौं-सदस्यीय टोलीका साथ पाँचदिने भारत भ्रमणमा निस्किएका थिए। तत्तकालिन भारतीय सेनाध्यक्ष दलबीर सिङ्गको औपचारिक निमन्त्रणामा उनी भारत भ्रमणमा गएका थिए। भ्रमणको दौरान उनलाई त्यहाँ भारतीय सेनाध्यक्षको मानार्थ पदवी तत्त्कालिन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले प्रदान गरेका थिए।
बिमस्टेकपछिको संयुक्त सैन्य अभ्यास त कारण होइन?
तर यता अहिलेका प्रधानसेनापति थापाको भारत भ्रमणको तयारी अझै हुन नसक्नुमा हालै नेपाल सरकारले सम्पन्न गरेको बिमस्टेक सम्मेलनका दौरान सरकारले बिमस्टेक सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यासमा सहभागी हुने भनियो तर पछि राजनीतिक वृतमा आलोचना चुलिएपछी उक्त निर्णयबाट सरकार पछि हट्यो र नेपाली सेनाको एक सैन्य अभ्यास टोलि भारत पुगेर पनि पछि फिर्ता भएको घटनालाई लिएर भारत सरकार र त्यहाँको सेना अहिले बेखुस रहेको पूर्वउच्च सैनिक अधिकारीहरु धारणा राख्छन।
हालै मात्रै अवकासमा गएका एक उच्च सैनिक अधिकृत भन्छन्- बिमस्टेक सम्मेलन लगतै भारतमा आयोजना भएको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाको सहभागिता हुन नसकेपछि अहिले तत्काल भारतीय सेनाका अध्यक्षले नेपाली सेनाको प्रधानसेनापतिलाई भारत भ्रमणको निम्तो नपठाएको धारणा राख्छन्।
यहाँबाट भारत भ्रमण हुनका लागि पहिले भारतीय सेनाध्यक्षको निम्तो आउनु पर्ने हुन्छ जो अहिलेसम्मे भएको छैन। निम्तो प्राप्त भैसकेपछि जंगी अड्डाले भारत भ्रमणको स्वीकृतिका लागि सेनाले सरकारको मन्त्रिपरिषद्को बैठकले त्यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ ।
हाल भारतका सेनाध्यक्षमा बिपिन रावत रहेका छन् जो पूर्व प्रधानसेनापति क्षेत्री भन्दा पछि सेनाध्यक्ष बनेका हुन्। उनी २०७३ पुष १३ गते सेनाध्यक्षमा नियुक्त भएका थिए। रावतको पदावधि पनि अवको अभिमा चार-पाँच महिनासम्म मात्रै रहेको छ अर्थात भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको अन्तिम वर्ष जहाँ मे महिनाको सन् २०१९ मा आम निर्वाचन हुँदैछ।