मुस्ताङ: बाढीका कारण क्षति पुगेपछि बन्द भएको साढे १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना पुनःसञ्चालनमा आएको छ ।
मुस्ताङको टुकुचेमा एक वर्ष अगाडि साढे दुई अर्ब रुपैयाँमा निर्माण गरिएको उक्त आयोजनामा बाढीले क्षति पु¥याएपछि २०७५ साउन २६ गतेदेखि बन्द भएको थियो । बाढीले जलविद्युत् आयोजनाको ड्याम, सुरुङ तथा ड्याममा राखिएका विद्युतीय यन्त्रमा क्षति पु¥याएपछि बन्द भएको जलविद्युत् आयोजना रु ३० करोड खर्च गरेर मर्मत गरिएपछि नियमित विद्युत् उत्पादन शुरु भएको आयोजनाका इलेक्ट्रिकल इञ्जिनीयर सुदीप भण्डारीले जानकारी दिए ।
माउण्ट कैलास इनर्जी कम्पनीले विसं २०६९ वैशाखदेखि निर्माण शुरु गरेको उक्त जलविद्युत् आयोजनाबाट उत्पादिन विद्युत् २०७४ मङ्सिर ७ गतेदेखि केन्द्रीय प्रशारण लाइनमा जोडिएको थियो । आयोजनाले विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्नकै लागि आफ्नै लगानीमा सवस्टेशन निर्माण तथा म्याग्दीको दानादेखि कोवाङसम्मको पुरानो तार विस्थापित गरी नयाँ तार जडान गरेर विद्युत् बिक्री शुरु गरेको थियो ।
बाढीले क्षति पु¥याएको झिरुङमा रहेको ड्याम, एक हजार ८३० मिटर लामो सुरुङमार्ग र विभिन्न विद्युतीय यन्त्रमा पु¥याएको क्षति पूर्णरुपमा मर्मत गरी नियमित विद्युत् उत्पादनको काम शुरु गरिएको छ । वर्षात्को समयमा साढे १३ मेगावाट विद्युत् उत्पादन हुने उक्त आयोजनाबाट अहिले चारदेखि पाँच मेगावाट विद्युत् उत्पादन भइरहेको भण्डारीले बताए ।