काठमाडौँ: हेलिकप्टर दुर्घटनामा परी आफ्ना प्रबन्ध निर्देशक गुमाएको यति एयरलाइन्स र तारा एयरले शुक्रबार देशभरि कुनै पनि उडान नगर्ने भएको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै यतिले बुधबारको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको सम्झनामा सबै उडान बन्द गर्ने जानकारी गराएको छ।
तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङस्थित पाथिभराको दर्शका लागि गएका थिए । पाथिभराको दर्शन सकेर काठमाडौँ फर्किने क्रममा दारेभीरमा हेलिकप्टर दुर्घटना भएको थियो ।
उक्त हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षकको निधन भएको थियो ।
यति र तारा एयरले काठमाडौंदेखि भरतपुर, पोखरा, विराटनगर, धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर, लुक्ला, फाप्लु, ताप्लेजुङ, तुम्लिङटार, जोमसोम, भद्रपुरलगायतका ठाउँमा उडान गर्दै आएका छन्।