काठमाडौँ: सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधि आपराधिक भएको ठहर गर्दै त्यसलाई नियन्त्रण गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले चन्द समूहका गतिविधि आपराधिक भएकाले नियन्त्रण गर्नुपर्ने ठाडो प्रस्ताव लगेका थिए ।
उक्त समूह राजनीतिक उद्देश्यभन्दा हिंसात्मक र आपराधिक ढंगले अघि बढेकाले कानूनी प्रक्रियाबाट नियन्त्रण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।
‘वार्तामा आउन पटक पटक आग्रह गर्यौं तर वार्तालाई वास्ता गरेन, उल्टो हिंसात्मक गतिविधि गर्दै गयो,’ एक मन्त्रीले भने, ‘चन्द समूहको राजनीतिक उद्देश्य पनि देखिएन, आपराधिक खालको गतिविधिमा मात्र संलगन रह्यो । त्यसैले त्यस्ता गतिविधि रोक्ने निष्कर्षमा सरकार पुगेको हो ।’
अब प्रहरीले चन्द समूहको गतिविधिमा विशेष निगरानी र कारवाही अघि बढाउने छ । ‘चन्द समूहको गतिवधि नियन्त्रण गर्न यसअघि केही अन्योल थियो । मन्त्रिपरिषदको निर्णयले अन्योल हटाएको छ,’ ती मन्त्रीले भने ।
चन्द नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता छैन । समान्यतया दलका रुपमा भनिए पनि कानूनी रुपमा दलको हैसियत छैन । त्यसैले यो समूहलाई दलको रुपमा सरकारले बुझेको छैन । त्यसैले हिंसात्मक गतिविधि गर्ने आपराधिक समूहको रुपमा यसलाई व्याख्या गरेको छ ।