काठमाडौँ: काठमाडौंका कुखुरामा कडा किसिमको बर्डफ्लु देखिएको छ। पशुसेवा विभागका अनुसार तारकेश्वर र टोखा क्षेत्रमा बर्डफ्लु देखिएको हो।
यो बर्डफ्लु मान्छेमा समेत सर्नसक्ने एच फाइभ एन वान र एच फाइभ एन एट प्रकारको हो।
यसको नियन्त्रणका लागि बर्डफ्लु संक्रमति कुखुरा नष्ट गर्ने तथा प्रभावित पोल्ट्री फार्महरूमा विषादी छर्कने काम भइरहेको पशुसेवा विभागले जनाएको छ।
विभागकी उपमहानिर्देशक डा. सम्झना काफ्लेका अनुसार काठमाडौंका अन्य स्थानमा पनि बर्डफ्लु भए नभएकोबारे अुनगमन गर्ने तयारी भइरहेको छ।
तारकेश्वर-७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्री फार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्री फार्ममा बर्डफ्लु भेटिएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा. जयप्रकाश राय यादवले जानकारी दिएका छन्।
गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लुको संक्रमण देखिएको थियो। यस स्थानमा अब ४० दिनसम्म कुखुरा पालनमा प्रतिबन्ध लगाइएको पशुसेवा विभागले जनाएको छ।