काठमाडौँ: सरकारी चिकित्सकहरूले शुक्रबारदेखि आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बहिष्कार गरेका छन्।
आफूहरूलाई संघीय सरकारको मातहत राख्न माग गर्दै उनीहरु आजदेखि हड्तालमा उत्रिएका हुन्।
सरकारले सरकारी चिकित्सकहरूलाई निजामती कर्मचारी जस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि सरकारी चिकित्सक संघ (गोदान)को नेतृत्वमा उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
देशभरका सरकारी चिकित्सकले आजबाट अनिश्चिकालसम्मका लागि आकस्मिकबोहक सबै सेवा बन्द गरेको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।
तर हावाहुरीले क्षति पुर्याएका बारा र पर्सा जिल्लामा सरकारी चिकित्सकले आफ्नो नियमित सेवा नरोक्ने पनि उनले जानकारी दिए।
‘यी दुई जिल्लाबाहेक देशैभर सरकारी चिकित्सकले आकस्मिकबाहकेका बिरामी हेर्ने छैनन्,’ नेपालखबरसँग डा. पाण्डेले भने, ‘जबसम्म माग पूरा हुँदैन तबसम्म यो आन्दोलन जारी रहनेछ।’
गोदानले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुने गरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग गरेको छ।
यो माग पूरा नहुँदासम्म चिकित्सा सेवा बहिष्कार गर्ने निर्णय संघले गरेको छ। मुलुकभर करिब १४ सय सरकारी चिकित्सक छन् ।