काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६ किलो सुनसहित ४ भारतीय पक्राउ परेका छन्।
अर्कै धातुजस्तो देखिने गरी जलप लगाएर विदेशबाट ल्याइएका तीन करोड रुपैयाँ बराबरको सुनका गरगहनासहित उनीहरूलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो।
बैंककबाट थाई लायन एयरको फ्लाइट नम्बर एस एल २२० विमानबाट काठमाडौं अवतरण गरेका जतिन जैन, सुनिता, सरिता जैन, बबिता गार्गलाई भन्सार छलेर ल्याइएका सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू अहिलेकाे नयाँ पार्किङमा रहेकाे थकाली किचेन बाहिरबाट पक्राउ परेका हुन्।
भन्सार र प्रहरी चेकिङ पार भएका उनीहरूलाई सई दीपेश काैशिककाे टाेलीले पक्राउ गरेकाे हाे। विमानस्थल सुरक्षा पार गरेका उनीहरूले सबै गहना लगाएर आएका थिए।
राहदानी नम्बर आर ९९१०७२७ बोकेका १९ वर्षीय जतिनको साथबाट बाला १ र सिक्री १ गरी ४९७.६५० ग्राम, राहदानी नम्बर टी ९९९०२७ भएका ४४ वर्षीया सुनिताको साथबाट बाला ६ र सिक्री थान २ गरी सुन १७७१ ग्राम बरामद भएकाे छ।

यसैगरी राहदानी नम्बर एस ०९२१७०३ बाहक ४१ वर्षीय बबिताको साथबाट बाला थान ६ र सिक्री थान २ गरी १७७३ ग्राम सुन, राहदानी नम्बर जेड ४०६९४८४ बोकेका ४६ वर्षीया सरिताको साथबाट बाला थान ६ र सिक्री थान २ गरी जम्मा सुन १७७३ ग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका सबै भारत राजिस्थान निवासी एउटै परिवारका हुन्। सबै गरेर तीन करोड रुपैयाँ बराबरको सुन बरामद गरिएको प्रहरीले जनाएको छ।