काठमाडौँ: मिडियामा खबर चुहिएपछी पक्राउ परेर पनि छुटेका व्यवसायी सुवास श्रेष्ठ पुनः पक्राउ परेका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका क्याफे सञ्चालक हुन् श्रेष्ठ। उनको परीवार नै हिजो शुक्रबार मध्यान्ह बैंकक जान लाग्दा पक्राउ परेकाे थिए । तर उनका अन्य चार जना परिवार भने रिहा भएका छन्।
ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित विमानस्थल प्रहरीले उनको परिवारलाई पक्राउ गरेको हो।
पहिले उनलाई विमानस्थल सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीकै निर्देशनमा रिहा गर्न लगाएको थियो तर मिडियामा कुरा चुहिएपछि उनलाई पक्राउ गरेको हो।
उनका साथबाट ३६ लाख ६१ हजार नेपाली रुपैयाँ बराबर विभिन्न देशका मुद्रा बरामद भएका छन्।
थाइ एयर फ्लाइट नम्बर टीजी ३२० विमानबाट बैंककतर्फ जान लागेको अवस्थामा श्रेष्ठसहित उनका परिवारका पाँच जनालाई शनिबार बिहान पौने २ बजे नियन्त्रणमा लिइएको एसएसपी भण्डारीले जानकारी दिए।
४६ वर्षीया उमादेवी श्रीमती, १७ र ४ वर्षका दुई छोरी र ११ वर्षीय छोरासहित बैंकक उड्न लागेका बेला अवैध विदेशी मुद्राहरूसहित ४८ वर्षीय सुवास श्रेष्ठलाई पक्राउ गरिएको उनले बताए।
श्रेष्ठकाे साथबाट चिनियाँ युआन ८० हजार (१३ लाख २० हजार रुपैयाँ), अमेरिकी डलर १० हजार (११ लाख ९२ हजार रुपैयाँ), थाई भाट २२ हजार १५० (७७ हजार ३१ रुपैयाँ) र युराे १ हजार ३८० (१ लाख ७१ हजार रुपैयाँ) बरामद भएकाे विमानस्थल प्रहरीले जानकारी दिएकाे छ।
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको गेट नम्बर ५ मा रहेका श्रेष्ठलाई शंका लागेर चेकजाँच गर्दा उक्त विदेशी मुद्राहरू बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ।
आज शनिबार परेकाले बरामद अवैध मुद्रासहित उनलाई आइतबार राजस्व अनुसन्धान विभागमा बुझाइने विमानस्थल सुरक्षा प्रमुख एसएसपी भण्डारीले जानकारी दिए।
त्रिभुवन विमानस्थलभित्र कान्तिपुर क्याफेका सञ्चालक सुवास अन्य विभिन्न व्यवसायमा संलग्न छन्।