काठमाडौँ: तारागाउँ विकास समितिको रिजेन्सी होटल्स लिमिटेडलाई घाटामा गएको देखाएर होटल र समितिका पदाधिकारीले गरकानुनी रुपमा आफूलाई लाभ पुर्याएको संसदीय समितिले आशंका गरेको छ ।
नेपाल सरकारको शेयर स्वामित्व भएको होटल घाटामा गएको देखाई उनीहरुले अनुचित लाभ लिएको संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति अन्तर्गत गठित उपसमितिले निश्कर्ष निकालेको हो ।
तारागाउँ रिजेन्सी होटल्समा सुरुमा सरकारको ३९.७७ प्रतिशत सेयर रहेको थियो । तर, आर्थिक वर्ष २०७१/०७२ मा उक्त होटलको खुद सम्पति १९१ करोडमध्ये तारागाउँ विकास समितिको शेयर लगानी ९.०१ प्रतिशत वा १७.२३ करोड मात्र देखिएको उपसमितिले जनाएको छ ।
उपसमितिले आइतबार मूल समितिमा पेश गरेको प्रतिवेदनको ५.१.२ मा उल्लेख छ, ‘समितिले होटलमा लगानी गरेको २२ वर्षसम्म कुनै पनि लाभ लिन नसकेको साथै खुद सम्पतिमा वृद्वि भएता पनि समितिको शेयर स्वामित्वमा भने वृद्वि हुन सकेको देखिदैन र शेयर होल्डिङ क्रमश कम हुँदै गएको देखिन्छ ।’