काठमाडौँ: आन्दोलनको चार दिन भइसक्दा पनि सरकारी चिकित्सकहरुको आन्दोलनले गन्तव्य पाउन नसक्दा बिरामीहरु थप मारमा परेका छन्।
जसका कारण दैनिक झण्डै एक लाख सर्वसाधारणले अत्यावास्यक बाहेकका कुनैपनि सेवा सरकारी अस्पतालबाट पाउन सकेका छैनन् ।
कर्मचारी समायोजन गर्दा चिकित्सकहरुलाई संघ अन्तर्गत नै राख्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका चिकित्सकले आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।
चिकित्सकहरुले सरकारी अस्पतालमा शुक्रबार यता अत्यावाश्यक बाहेकका सेवा बन्द गरेर आन्दोलनरत छन् । चार दिनसम्म पनि आफ्नो मागप्रति सरकारले चासो नदिएको उनीहरुको भनाई छ ।
सरकारी चिकित्सकहरूले आन्दोलन अवधिभरको तलब भत्ता नलिने घोषणा गरिसकेका छन् ।
देशभर करिब १४ सय सरकारी चिकित्सक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशमा ८४ वटा जिल्ला अस्पताल, १० अञ्चल अस्पताल, काठमाडौंमा ५ वटा केन्द्रीय अस्पताल, २ क्षेत्रीय र २ वटा उपक्षेत्रीय अस्पताल रहेका छन् । मुलुकमा १५ हजार चिकित्सक अपुग भइरहेका बेला भएका चिकित्सकहरु नै आन्दोलनमा उत्रिएपछि स्वास्थ्य क्षेत्र यो वा त्यो बहानामा अस्तव्यस्त बन्दै जान थालेको गुनासो बढ्न पुगेको छ ।
कर्मचारी समायोजन अध्यादेशप्रति असन्तुष्टि जनाउँदै सरकारी डाक्टरहरुले पुष २२ देखि आन्दोलन थालेपनि त्यो विचमा सरकारले माग सम्बोधन गर्ने आश्वसन दिएपछि आन्दोलन स्थगन गरेका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी चिकित्सकको माग सम्बोधन गर्न स्वास्थ्य ऐन नै शंशोधन गर्नुपर्ने भएकाले आफुले केही गर्न नसक्ने बताउदै आएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर महेन्द्र श्रेष्ठले चिकित्सकको माग सम्बोधनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफल भइरहेको बताए ।