एजेन्सी: धेरै चर्चामा आएको तर नदेखिएको विकराल प्वालको तस्बिर खिच्न वैज्ञानिकहरु सफल भएका छन् । बीबीसीका अनुसार विभिन्न आठ स्थानमा राखिएका Event Horizon Telescope नामक शक्तिशाली क्यामेराको सञ्जालबाट वैज्ञानिकहरु उक्त प्वालको तथ्यसमेत प्राप्त गर्न सफल भएका हुन् ।
पहिलो पटक सार्वजनिक गरिएको कालो प्वाल (ब्ल्याक होल) को तस्बीरसँगै उक्त प्वाल पृथ्वीभन्दा ३३ लाख गुणा ठुलो र ४० अर्ब किलोमिटरको रहेको तथ्य सार्वजनिक भएको छ । एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित विवरण अनुसार विकराल प्वाल पृथ्वीभन्दा ५० करोड खर्ब किलोमिटरको दूरीमा साँच्चिकै विकराल (Monster) रुपमा छ ।
वैज्ञानिकहरुले त्यसलाई विकराल नै भनेर चर्चा गरेका छन् । कालो प्वाल भनेर चर्चा गर्ने गरिएको उक्त प्वाल कालो नभई “आगोको तेजिलो लप्का”को वृत्त रहेको छ ।
यो आकाश गङ्गाका अरु करोडौँ ताराहरुको संयोजित प्रकाशभन्दा चम्किलो छ र त्यसैका कारण पृथ्वीभन्दा त्यतिको दूरीमा पनि देख्न सकिएको छ । प्वालको केन्द्रमा रहेको कालो घेराबाट ग्यास भित्र जाने वैज्ञानिकहरुले बताएका छन् ।