काठमाडौं : केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २०७८ का लागि राष्ट्रिय तथ्यगत विवरण संकलन गर्ने तयारी गरेको छ। पूर्ण गणनामार्फत विभागले तथ्यांक संकलन गर्ने भएको हो।
जनशक्ति र अन्य स्रोत प्रक्षेपणसहितको परियोजनाको तयारी गरिरहेको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए। जनगणनाका लागि सात सय ५३ स्थानीय तहको गणना नक्सा निर्माण भइरहेको उनले बताए। आगामी आर्थिक वर्षमा नक्सा तयार गरेर प्रिन्टसमेत गर्ने तयारीमा रहेको उनले बताए।
जनगणना व्यवस्थापन र सञ्चालन निर्देशिका तथा मापदण्ड तयारी मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाएको छ। पाँच वर्षको बजेट व्यवस्थापनका लागि सरकार र दातृ निकायसँग सहयोग र समन्वय गर्नेछ। जनगणना सञ्चालन पूर्वपाइलट सर्वेक्षणको तयारी पनि विभागले गरेको छ।
आगामी आर्थिक वर्षदेखि विभागले जनगणना पाइलट सर्वेक्षण सञ्चालन गर्ने महानिर्देशक अर्यालले जानकारी दिए। पाइलट सर्वेक्षणपछि प्रश्नावली र निर्देशिका अन्तिमरुप दिने योजना छ। यो समाचार अन्नपुर्ण पोस्टमा रहेको छ ।