काठमाडौं : नयाँ वर्षको पहिलो दिनको सेयर कारोबारमा सकारात्मक देखिएको छ । नेप्से सूचक हरियो बन्दा कारोबार रकम पनि सुधार आएको छ । आजदेखि एकैपटकमा ५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्रीमा प्यान लागू गरिएको छ ।
शेयर बजारमा अनिवार्य गरिएको स्थायी लेखा नम्बर(प्यान)राखेर सोमबार ५६ वटा शेयर कारोबार भएका छन्। पहिलो दिन ४१ जना लगानीकर्ताले प्यान नम्बर राखेर शेयर कारोबार गरेको नेपाल स्टक एक्सचेन्जले(नेप्से)ले जनाएको छ।
५ लाख भन्दा कमको खरिदबिक्रीमा प्यान अनिवार्य छैन । लगानीकर्ताले स्वेच्छिक रुपमा निर्णय गर्न सक्छन् । वर्षको पहिलो दिनको कारोबारमा बजार बढेकाले लगानीकर्ताको मनोविज्ञानमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
नेप्से सूचक सोमबार ४.७० अंकले बढेर ११८८.७१ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.४०% ले माथि लागेको हो । कुल १६५ कम्पनीको ३० करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ९ लाख ६४ हजार ५९८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।