सुर्खेत: राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको सुरुङ मार्ग छिचोलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा बटन थिचेर सुरुङ मार्गबाट करिब १५ मिनेटको समयमा टनेल बोरिङ मेसिन (टिबीएम) भेरी किनारमा निकालेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ छिचोलिएपछि सम्बोधन गर्दै पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरिएको आयोजना सफलतापूर्वक सम्पन्न भएको बताए। भौगोलिक बनावटले निकै चुनौती रहेको यस आयोजनाको काम समयसीमा भन्दा अगावै सकिएको भन्दै खुशी व्यक्त गरे।
यस प्रविधिबाट नेपालमा भित्रिएसँगै अब प्रयोग गर्दै जाने र लाभ पनि लिँदै जाने उल्लेख गरे।
आयोजनाको सुरुङ सकिए लगत्तै प्रधानमन्त्री ओलीले बाँकी अन्य कामलाई गति दिन आग्रह गरेका छन्।
भेरीगंगा नगरपालिकाको बबईबाट सुरु भएको सुरुङ निर्माण कार्य आज भेरीगंगाको चिप्लेस्थित भेरी नदीमा गई टुंगिएको हो।
पहिलो पटक प्रयोग गरिएको मानव रहित टीबीएम मेसिनले १२ किलोमिटर २१० मिटर सुरुङ पार गरी चिप्लेस्थित भेरी किनारमा निस्केको हो। टीबीएम मेसिनले २०७४ कार्तिक २० गतेबाट सुरुङ खन्ने काम थालेको थियो। टीबीएम मेसिनले दैनिक २०–२५ मिटरका दरले सुरुङ खन्ने काम गर्दै आएको थियो। सुरुङ मार्गका लागि आयोजनाको हाल सम्म झण्डै सात अर्ब रुपैयाँ खर्च भइसकेको निर्देशक सञ्जीव बरालको भनाई छ।
नेपालमा पहिलो पटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत् तोकिएको समय एक वर्ष अगावै सुरुङ मार्ग सकिएको छ। अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित टीबीएम मेसिनले सुरुङ खनेको थियो।