काठमाडौं: सरकारको वार्षिक नीति तथा कार्यक्रम वैशाख २० गते प्रस्तुत गर्ने तय भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्वोधनमार्फत सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको संसद् सचिवालयले जनाएको छ। राष्ट्रपति कार्यलयले बुधबार यससम्बन्धी पत्र संसद्लाई पठाइसकेको छ।
संसद्को वर्षे अधिवेशन वैशाख १६ बाट सुरु हुँदैछ। चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ।
सरकारको वार्षिक नीति तथा कार्यक्रम पारितपछि बजेट प्रस्तुत गर्ने प्रचलन छ। तर बजेटका सिद्धान्त र प्राथमिकताबारे (प्रिबजेट ) छलफल भने वार्षिक नीति तथा कार्यक्रम अघि कि पछि भन्ने टुंगो भएको छैन ।
गत वर्ष नीति तथा कार्यक्रम अघि नै प्रिबजेट छलफल भएको थियो। तर त्यतिबेला प्रिबजेट छलफलको भावना विपरीत नीति तथा कार्यक्रम प्रस्तुत भएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका थिए।
’