काठमाडौँ: सरकारले राजदूत फिर्तादेखि भन्सार छुटसम्मका २२ ओटा निर्णय गरेको छ ।
सरकारले विभिन्न निकायले खरिद गरेका ९६ वटा एम्बुलेन्स पैठारीका बखत १ प्रतिशत भन्सार महसुल लिई बाँकी भन्सार महसुल छुट दिने निर्णय गरेको छ।
यसैगरी कतारका लागि नेपाली राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई नेपाल फिर्ता बोलाउने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सुचना, संचार प्रबिधि मन्त्री गोकुल बास्कोटाले बताए छ ।
सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत (पहिलो संशोधन) कार्यविधि २०७५ लाई स्वीकृति प्रदान गरिएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश नं. १ विराटनगरले खरिद गरी प्रदेशअन्तर्गतका स्थानिय तहहरूलाई वितरण गर्ने ७० थान; सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतले खरिद गरि प्रदेशअन्तर्गतका अस्पतालहरूलाई वितरण गर्ने १० थान तथा सामाजिक विकास मन्त्रालय, सुदुरपश्चिम प्रदेश, धनगढीले खरिद गरी प्रदेशअन्तर्गगतका विभिन्न अस्पताल र स्वास्थ्य संस्थालाई वितरण गर्ने १६ थान एम्बुलेन्स पैठारीका बखत १ प्रतिशत भन्सार महसुल लिई बाँकी भन्सार महसुल छुट दिने निर्णय गरिएको छ। उक्त एम्बुलेन्सहरू भन्सार छुटमा एम्बुलेन्स आयात नगरेका स्थानीय तहलाई वा एम्बुलेन्स नभएका स्थानीय तहका सरकारी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र वा अस्पताललाई मात्र वितरण गरिनेछ।
आर्थिक वर्ष २०७६/७७ देखिको बजेट तर्जुमाका लागि सात वटै प्रदेशमा प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (Provincial Line Ministry Budget Information System, P-LMBIS) प्रयोगमा ल्याउन स्वीकृति दिइएको छ। विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकले उपलब्ध गराउने करिब रू २ अर्व ६५ करोड ७७ लाख (अमेरेकी डलर २३.९५८ मिलियन) बराबरको अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा अप्रिल २२, २०१९ मा काठमाडौंमा हुने वार्तामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरि विकास सहायता नीति, २०७१ बमोजिम विश्व बैङ्कसँग वार्ता गर्न अख्तियारी दिइएको छ।
भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजना भैरहवा–रूपन्देहीअन्तर्गत तौलिहवा न.पा. वडा नं. १ स्थित जमुवार खोलामा नयाँ वक्स कल्भर्ट निर्माण हुने जग्गाको सीमाभित्र परेका जग्गामा जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ।
पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना (पश्चिम खण्ड) नुवाकोट जिल्लाअन्तर्गत देउडी–कटुन्जे सडकमा पर्ने कागुणे खोला पुलको लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ।
त्यस्तै, सरकारले सैती खोला साना जलविद्युत आयोजना (९९९ कि.वा.) निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।
सरकारले उपराष्ट्रपति श्री नन्दबहादुर पुनको अष्ट्रिया भ्रमण समेत स्वीकृत गरको छ भने कतारका लागि नेपाली राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई नेपाल फिर्ता बोलाउने निर्णय गरेको छ ।
बारा तथा पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट उजाड तथा क्षति हुन पुगेका १४५३ घरहरूको पुनर्निर्माणका लागि आवश्यक रू. ८४ करोड ६८ लाख ७६ हजार १४० नेपाली सेनालाई उपलब्ध गराउने निर्णय गरिएको छ।