काठमाडौँ: नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने बताएका छन्।
संयोजक भट्टराईले सरकारसँग सहकार्य गरेर मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे।
शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डवमा सुरु भएको ‘आन्तरिक पर्यटन मेला’मा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि लगानी भित्र्याउने काम निजी क्षेत्रले नै गर्नुपर्ने तर्क समेत गरे। त्यसका लागि सरकारले पूर्वाधार विकास र आवश्यक नीति÷कानुनको तर्जुमा गरिदिनुपर्ने संयोजक भट्टराईको भनाइ छ।
संयोजक भट्टराईले पर्यटन क्षेत्रको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन तुलानात्मक लाभका क्षेत्रहरुको पहिचान गरी लगानी गर्न पनि व्यवसायीहरुलाई आग्रह गरे।
कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन सरकार तत्पर रहेको बताए। उनले पर्यटन क्षेत्रलाई व्यापारको रुपमा नभई उद्योगको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन जनप्रतिनिधिको रुपमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यका साथ आयोजना गरिएको मेलामा सबै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी १ सय ११ वटा व्यवसायिक तथा फुड स्टलहरु रहेका छन्। मेलामा पर्यटन क्षेत्रका सेवा प्रदायक संस्थाहरु टे«किङ, ट्राभल्स, एयरलाईन्स, होमस्टे, टुरिज्मसँग सम्बन्धित कलेजलगायतका प्रर्दशनीहरु मुख्य आकर्षणको रुपमा राखिएका छन्।