सुर्खेतः तीन सातामा १० जनाको ज्यान जानेगरी हुम्लाको ताँजाकोटमा फैलिएको मौसमी फ्लु विस्तारै नियन्त्रणमा आउन थालेको छ। संक्रमण सुरु भएको तीन सातापछि चिकित्सकहरु पुगे पनि उपचारमा विशेष ध्यान दिँदा दुई दिनमै फ्लू नियन्त्रणमा आउन थालेको चिकित्सकले बताएका छन्।
आइतबार पुगेका चिकित्सकहरुले शिविर संचालन गरेर बिरामीहरुको जाँच सुरु गरेका थिए। शनिबारसम्म नौ जनाको मृत्यु भएकोमा पुनः आइतबार राती थप एक जनाको मृत्यु भएको थियो। पहिल्यैदेखि शिरियस भएका बिरामीको ज्यान गए पनि अब गम्भीर प्रकृतिका बिरामीहरु नभएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।
सोमबार बिहान आठ बजेदेखि संचालन गरिएको शिविरमा आउने अधिकांशमा सामान्य रुघाखोकी, ज्वरो र झाडापखालाको संक्रण देखिएको चिकित्सक डा. के एन पौडेलले जानकारी दिए।
चिकित्सकहरुले एक्कासी पुरै गाउँपालिका नै चपेटामा आएपछि स्वाइन फ्लुको शंकासमेत गरेका छन्। ‘हामीले स्वाइन फ्लु हो कि भन्ने आशंका गरेका छौं, आइतबार र सोमबार त्यस्ता गम्भीर बिरामी आएका छैनन्’ उनले भने, ‘हेलिकप्टर नआएकाले पनि परीक्षणका लागि नमूना पठाउन सकेका छैनौं, आज संकास्पद व्यक्तिको खकार संकलन गरी परीक्षणका लागि सुर्खेत पठाएपछि मात्रै कुन रोगको संक्रमण हो थाहा हुन्छ।’ तर शिविरमा आउने बिरामीहरुको अवस्था हेर्दा फ्लुको संक्रमण बिस्तारै नियन्त्रणमा आउन थालेको उनको भनाइ छ।