काठमाडौँ: मौसम प्रतिकुल भएपछि शुक्रबार विभिन्न गन्तब्यका हवाई उडान प्रभावित भएको छ।
पश्चिम र दक्षिण भेगमा उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय तर्फको उडानमा भने प्रभाव नपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।
दिउँसो साढे एक बजेदेखि हेलिकोप्टर उडान बन्द गर्नका लागि सबै कम्पनीलाई अलर्ट म्यासेज दिइसकेको हेलिकोप्टर समाज नेपालले जनाएको छ।
शुक्रबार विहान उडिसाबाट नेपालको पूर्वी भागमा प्रवेश सुरु गरिसकेको फानीको प्रभाव दिउँसो तीन बजेदेखि देखापर्ने जल तथा मौसम विभागले जनाएको छ।
त्यसैगरी, हुरीबताससहित भारी वर्षापछि नवलपुरको जनजीवन प्रभावित भएको छ । हुरीबतासकै डरले जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् ।
कावासोतीलगायत जिल्लाका अधिकाँश स्थानमा आज बिहानैदेखि हावाहुरीसँगै वर्षा भइरहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोती आसपास क्षेत्रमा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चलेको छ । हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले आग्रह गरेका छन् ।