काठमाडौं: नवगठित समाजवादी पार्टी, नेपालले सातवटै प्रदेशमा पार्टी एकताको बारेमा जानकारी गराउन कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भई गठन भएको सो पार्टीले एकीकरणको सन्देश दिनका लागि प्रत्येक जिल्लामा जाने निर्णय गरेको केन्द्रीय सदस्य अशोक यादवले बताए ।
सातवटै प्रदेशमा समाजवादी पार्टी, नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय समितिका सदस्य उपेन्द्र यादवले सम्बोधन गर्ने बताइएको छ । एकीकरणपछि आज बसेको केन्द्रीय समितिको पहिलो बैठकले सातवटै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेपनि मिति तय भएको छैन ।
मिति तय गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको छ । पदाधिकारीको बैठकले सातवटै प्रदेशका लागि कार्यक्रम तालिका बनाउने बताइएको छ । साथै, केन्द्रीय समितिाको बैठकले समाजवादी पार्टी, नेपाललाई निर्वाचन आयोगमा दर्ता गराउने जिम्मेवारी पनि पदाधिकारीलाई दिएको छ ।
बैठकले पदाधारी तथा केन्द्रीय सदस्यले शपथग्रहण पनि गरेका छन् । केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले सबैलाई सपथग्रहण गराएका थिए ।
सो पार्टीमा ४३१ केन्द्रीय सदस्यमा २८० जना फोरम नेपालका तर्फबाट रहेका छन् भने नयाँ शक्तिबाट १५१ जना रहेका छन् । २५ सदस्यीय कार्यसमितिमा १६ जना फोरम नेपालबाट रहेका छन् भने ९ जना नयाँ शक्तिको तर्फबाट रहेका छन् ।