काठमाडौं: खानेपानी मन्त्री बिना मगरले उपत्यका भित्र रहेका ताल तलैया, पोखरी र ढुंगेधाराको संरक्षण, सम्बर्द्धन र सौर्न्दयीकरणमा योजना बनाएर अघि बढिने बताएकी छन् ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) द्वारा प्रकाशित भएको काठमाडौं उपत्यका भित्रका पुराना ढुङगे धारा तथा पोखरीहरुको लगत– नक्साङकन सम्बन्धि पुस्तकको बिमोचन गर्दै खानेपानी मन्त्री मगरले नास हुँदै गइरहेको पोखरी र ढुंगेधाराको संरक्षण र सम्बर्द्धनमा योजनासहित अघि बढिने बताएकी हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘आधुनिकताले हाम्रो प्राचीन सभ्यता झल्काउने कलात्मक ढुंगेधारा र पोखरीहरु मासिँदै गइरहेका छन् । सहरीकरणका कारण हाम्रो जीवन्त कला, संस्कृति लोप भएका छन् । अब यसलाई सम्भाव्यता अध्ययन गरेर यसको संरक्षणमा जोड दिनु आवश्यक छ ।’
ढुंगेधारा र पोखरीको संरक्षण र सौन्दर्यीकरण गरेर पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिने मन्त्री मगरको भनाइ छ ।
काठमाडौं उपत्यकाभित्र रहेका ढुंगेधारा र पोखरीहरुको बारेमा लागत तथ्यांक संकलन गरि पहिलोपटक यस्तो पुस्तक तयार भएको हो ।
काठमाडौं उपत्यका भित्रका १० वटा नगरपालिका क्षेत्र भित्र रहेका ढुंगेधारा तथा पोखरीहरुको स्थलगत रूपमा अध्ययन तथा अनुसन्धान गरि सो को विस्तृत लागत संकलन गरि पुस्तक तयार गरिएको छ ।
जसमा उपत्यकाभित्र रहेका २ सय ३३ पोखरीहरुमध्ये स्थलगत रूपमा भेटिएका पोखरीको संख्या १ सय ९३ रहेको पुस्तकमा उल्लेख छ । त्यस्तै ४० वटा पोखरीहरु लोप भएका छन् ।
यसैगरी उपत्यकाभित्र अध्ययनका क्रममा ५ सय ७३ ढुंगेधाराहरु संकलित गरिएकोमा स्थलगत रूपमा भेटिएका ढुंगेधाराहरुको संख्या ४ सय ७९ वटा, मासिएको ढुंगेधाराको संख्या ५२ वटा र पत्ता नलागेको ढुंगेधाराको संख्या ४२ वटा रहेका छन् ।
१० वटा नगरपालिका क्षेत्र भित्र रहेका ४ सय ७९ ढुंगेधारा मध्ये अध्ययनको क्रममा १ सय ७१ वटा ढुंगेधारामा मात्र पानी बगेको पाइएको अध्ययनले देखाएको छ ।