काठमाडौं : सत्तारुढ दल नेकपाले पार्टी एकताको १४ महिनापछि राजनीतिक प्रतिवेदन टुंगो लगाएको छ। यसलाई सोमबार छाप्न पठाइँदै छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आइतबार प्रतिवेदनलाई अन्तिम रूप दिएका हुन्।
यो अवधिमा पार्टी विधान र नियमावली प्रकाशनमा आएका थिए। प्रतिवेदन नछापिँदा एकीकृत पार्टीको राजनीतिक कार्यदिशा, इतिहासको मूल्यांकन, अन्तर्राष्ट्रिय सम्बन्धलगायत विषयमा मतभेद बढेको थियो। अध्यक्षहरूबीच भएका पछिल्ला छलफलले दुवै पक्षमा आशंका चिरेको छ। समाजवाद उन्मुख जनताको जनवादको राजनीतिक कार्यक्रम, तत्कालीन एमालेको नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र वैधानिक संघर्षले कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न खेलेको भूमिका तथा तत्कालीन माओवादीको नेतृत्वमा सञ्चालित ‘जनयुद्ध’ले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र विभिन्न सांस्कृतिक समुदायका जनतामा राजनीतिक चेतना–जागरण ल्याउन र संगठित बनाउन खेलेको भूमिकाबारे प्रतिवेदनमा उल्लेख छ।
पार्टीको कार्यदिशा र तत्कालीन माओवादी युद्धको योगदानबारे दुई अध्यक्षबीच अस्पष्टता देखिएको थियो। अब दस्तावेजले अन्तिम रूप लिएको र सोमबार प्रकाशनमा जाने अध्यक्ष दाहालले पुष्टि गरे। पार्टीनिकट दूरसञ्चार प्राधिकरण कर्मचारी संगठनको भक्तपुरमा सुरु एकता सम्मेलन उद्घाटन कार्यक्रममा उनले पार्टी एकताका क्रममा एउटा ठूलो काम ओलीसँग बसेर टुंगो लगाएको बताए। ‘म एउटा खुसीको खबर सुनाउन सक्ने भएर आएको छु। प्रधानमन्त्रीसँग आज बिहान (आइतबार) मात्रै राजनीतिक प्रतिवेदनको टुंगो लगाएका छौं। त्यो सोमबार) प्रकाशनमा जाँदै छ’, उनले भने, ‘पार्टी एकताका सन्दर्भमा ठूलो काम हामीले आज पूरा गरेका छौं।’
अब प्रतिवेदनको अन्योल हटेको उनले सुनाए। ‘राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीति, विधि यो सबै के हो ? कुन आधिकारिक हो ? कुन नेताले बोलेको पार्टीको लाइन हो ? कुन नेताले भनेको पार्टीको लाइन होइन ? यस्तो अन्योल पनि देखिएको थियो’, उनले भने, ‘त्यसलाई अन्त्य गर्ने निर्णय गरेका छौं। त्यो प्रकाशन भएर तपाईंहरू सबैको हातमा आइसकेपछि अनुसन्धान गर्न सक्नुहुन्छ। के पार्टी रहेछ, के होइन रहेछ भन्ने थाहा हुनेछ।’ यो समाचार अन्नपुर्ण पोस्टबाट लिइएको हो ।