काठमाडौं : हिजो मंगलबार दिनभर परेको पानी आज पनि पर्ने अनुमान गरिएको छ ।
आज बुधबार काठमाडौं उपत्यकामा दिनभर बादल लाग्ने र पानी पर्ने मौसमविदहरुको पूर्वानुमान छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकामा घाम लाग्ने सम्भावना नभएको र दिनभरी नै पानी पर्ने छ ।
बुधबार देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने छ ।
कतैकतै भारी वर्षाको पनि सम्भावना रहेकाले पहिरो जान सक्ने, नदीहरुमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदे सुझाव दिएका छन् ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको कारण देशभर मौसममा बदली भइरहेको छ ।
साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली रहेकाले पनि त्यसको प्रभावले पानी परिरहेको छ ।
हाल देशका अधिकांस भागहरुमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्य वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार भोली बिहीबारदेखि भने मौसममा क्रमिक सुधार आउने छ ।
सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा सकिन्छ ।
यस वर्ष नेपालमा १० दिन ढिलो मनसुन भित्रिएको थियो ।
विगतलाई हेर्दा मनसुनको अवधि लम्बिएको छ । गत वर्ष अक्टुबर ५ बाट नेपालमा मनसुन अवधि सकिएको थियो भने सन् २०१३ मा त अक्टुबर १९ मा मात्र मनसुन अन्त्य भएको थियो ।
यस वर्ष पनि मनसुन लम्बिने अनुमान मौसमविदको छ ।