काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली तेस्रोपटक डायलासिस गराउन आज आइतबार बिहान ग्रान्डी अस्पताल पुगेका छन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मिर्गौला डायलासिसका लागि अहिले बिहान प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल पुगेका हुन्।
प्रधानमन्त्री अस्पताल गएपछि आज बिहान बालुवाटारमा बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सारिएको छ।
बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिहरूलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिनाका साथै सरकारको कामलाई प्रभावकारी गराउनेलगायत विषयमा छलफल हुने तयारी थियो।
डायलासिस गराउन ४ घण्टा लाग्ने भएकाले मन्त्रिपरिषद् बैठकपछि आजै दिउँसो बस्ने भनिएको नेकपा सचिवालय बैठक पनि बस्ने नबस्ने अनिश्चित भएको छ।
यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डीमा दुई पटक डायलासिस गराइसकेका छन्।
हिजो (शनिबार) बसेको नेकपा सचिवालय बैठकमा उनले मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जमेकाले ग्रान्डी अस्पतालमा गएर दुईपटक डायलासिस गराएको बताएका थिए।
ग्रान्डीमा गरिएका स्वास्थ्य जाँचका केही रिपोर्ट आउन बाँकी रहेको र ती आइसकेपछि डाक्टरले फाइनल गर्ने उनको भनाइ छ।
यसै क्रममा प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि यही कात्तिक २ गते ग्रान्डी अस्पताल पुगेका थिए। मिर्गौला सुन्निएको पाइएपछि क्याथेटर राखिएको थियो।
बुधबार फेरि अस्पताल गएका उनको आकस्मिक डायलासिस गरियो।
पुनः बिहीबार दोस्रोपटक डायलासिस गराएर सरकारी निवास फर्किएका प्रधानमन्त्रीको आज तेस्रोपटक डायलासिस गराउन लागिएको हो।