काठमाडौँ: नेपाल सरकारले सातै प्रदेशका प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेको छ । राष्ट्रपति कार्यालयले प्रदेश प्रमुखहरुको सपथ मंगलबार विहानका लागि तय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखका लागि नाम सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्का एक सदस्यका अनुसार, प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाई, गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा शर्मिला त्रिपाठीको नाम सिफारिस गरिएको छ ।
मन्त्रिपरिषद् बैठकअघि बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले सातै प्रदेश प्रमुखका लागि नाम टुङ्गो लगाएको हो । जसमा पूर्व माओवादीबाट तिलक परियार, अमिक शेरचन र शर्मिला त्रिपाठीगरी तीन र पूर्व एमालेबाट सोमनाथ अधिकारी ‘प्यासी’, विष्णु प्रसाई, धर्मनाथ यादव र गोविन्द कलौनीगरी चार जनाको नाम सिफारिसमा परेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई नेपाल सरकारको सिफासिरसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार पदमुक्त गरिएको थियो ।
सचिवालय बैठकपछि नेकपाका महासचिव विष्णु पौडेलले संवैधानिक व्यवस्थाअनुसार नै प्रदेश प्रमुखहरुको नियुक्ति सिफारिस भएको बताउनुभयो ।
उहाँले सरकारको प्रतिनिधिका रुपमा काम गर्न उपयुक्त पात्रको छनोट संवैधानिक व्यवस्थाअनुसार नै गरिएको बताउनुभयो ।
उहाँले प्रदेश प्रमुखहरुको पदमुक्तिका विषयलाई लिएर प्रतिपक्षी दलबाट आएको प्रतिक्रियालाई लोकतान्त्रिक अधिकार भएको टिप्पणी गर्नुभयो । सहकार्यको संस्कृतिको अन्त्य भएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “सरकारले संवैधानिक प्रक्रियाअनुसार काम गर्दा सहकार्य नै बन्द हुन्छ भन्ने लाग्दैन ।”
सोमनाथ अधिकारी ‘प्यासी’
कास्कीका प्यासी २०४३ सालमा जनपक्षीय उम्मेद्वारका रुपमा राष्ट्रिय पञ्चायत सदस्यसमेत हुनुभएको थियो । राष्ट्रिय पञ्चायतमा बहुदलको माग गर्दै जनताको पक्षमा आवाज उठाउने नेता प्यासीलाई इमान्दार नेताको रुपमा लिइन्छ । २०४८ सालमा नेकपा (एमाले) बाट सांसद बन्नुभएका प्यासी नेकपाको स्थायी समितिमा आमन्त्रित सदस्य हुनुहन्छ ।
तिलक परियार
रोल्पाको लिवाङमा जन्मनुभएका परियार दलितमुक्ति र अधिकारको आन्दोलनमा समेत स्थापित नाम हो । माओवादी जनयुद्धमा सुरुदेखिनै सक्रिय परियार बाँके जिल्ला क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य हुनुभएको थियो । उहाँ २०२८ सालदेखि राजनीतिमा लाग्नुभएको हो ।
विष्णु प्रसाई
तेह्रथुमको हाङपाङमा २०१० सालमा जन्मनुभएका प्रसाई पाका वामपन्थी नेताका रुपमा चिनिनुहुन्छ । झापाको मेचीनगर नगरपालिकाको प्रमुख पदमा उम्मेद्वारभई पराजित प्रसाईले २०२७ सालबाट राजनीतिक यात्रा थाल्नुभएको हो । धुलावारीका स्थानीय प्रसाईले जनपक्षीय जनप्रतिनिधिका रुपमा २०३० सालमै वडा सदस्य हुनुभएको थियो । २०४४ सालमा धाइजन गाउँ पञ्चायतको प्रधानपञ्च हुनुभएका प्रसाई, जिल्ला विकासको उपसभापति र २०५१ सालमा चिया विकास निगमको कार्यकारी अध्यक्ष समेत हुनुभएको थियो ।
अमिक शेरचन
२०६२÷०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका शेरचन पाका कम्युनिष्ट नेताको रुपमा चिनिनुहुन्छ । २०४२ सालमै जनपक्षीय उम्मेदवारका रुपमा निर्वाचन लड्नुभएका शेरचन २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा रामेछापबाट निर्वाचन लड्नु भएको थियो ।
धर्मनाथ यादव
सिरहाको सुखीपुर नगरपालिका–६ खरही टोलमा २००० सालमा जन्मिनुभएका धर्मनाथ यादव मधेश क्षेत्रमा इमान्दार नेताको रुपमा परिचित हुनुहुन्छ । नेकपाका केन्द्रीय सदस्य धर्मनाथले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ । यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो ।
शिक्षण पेशाबाट राजीनामा दिएर २०४८ को निर्वाचनमा उम्मेद्वार बन्नुभएका यादव ५१ को मध्यावधी निर्वाचनमा भाग लिए पनि पराजीत हुनुभएको थियो ।
गोविन्द कलौनी
सुदूरपश्चिमका पाका वामपन्थी नेताका रुपमा चिनिनुहुने गोविन्द कलौनी प्राध्यापकको जागिर छाडेर सक्रिय राजनीतिमा आउनुभएको हो । कलौनीले ४८ साल, ५१ सालमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग डडेलधुरामा चुनाव लड्नुभएको थियो । ०५६ सालमा बैतडी र २०६४ सालमा कञ्चनपुरबाट चुनाव लडे पनि कहिल्यै विजय प्राप्त गर्न सक्नुभएको थिएन ।
शर्मिला त्रिपाठी
चितवन जिल्ला रत्ननगर–१३ जयमंगलाकी शर्मिला त्रिपाठी बेपत्ता परिवारको सदस्यसमेत हुनुहुन्छ । राज्यद्वारा वेपत्ता पारिएका ज्ञानेन्द्र त्रिपाठीकी श्रीमती शर्मिलाले लामो समयदेखि बेपत्ता परिवारको हक र अधिकारका लागि लड्दै आउनुभएको छ । बेपत्ता परिवार समाजको पूर्वअध्यक्ष त्रिपाठीले माओवादी जनयुद्धका क्रममा विभिन्न जिम्मेवारीमा रहेर पार्टीमा योगदान गर्नुभएको थियो ।