भक्तपुर :आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा ९क० मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
गाविस हुदाँदेखि नै तत्कालीन एमालेको पकड रहेको यो क्षेत्रमा गत प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का उम्मेदवार हरिशरण लामिछाने विजयी भएका थिए ।
मष्तिस्कघातका कारण लामिछानेको निधन भएपछि यस क्षेत्रमा रिक्त रहेको प्रदेशसभा सदस्यमा उपनिर्वाचन हुने भएको हो ।
यसपटकको उपनिर्वाचनमा नेकपाले युवानेता एवं पार्टी जिल्ला सचिव देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार बनाएको छ ।
काङ्ग्रेसले यसअघिको संविधानसभामा उम्मेदवारसमेत बन्नुभएका व्यवसायी कृष्णलाल भँडेल र नेमकिपाले पत्रकारितामा समेत सक्रिय रहेका युवानेता निरज लवजूलाई उम्मेदवार बनाएको छ ।
नेकपाका उम्मेदवार ढकाललाई यसपटकको निर्वाचनमा पहिलाको जितलाई सुनिश्चित गर्नैपर्ने चुनौती छ ।
यसका लागि आफू तयार रहेको र नेकपा एक ढिक्का भएर अगाडि बढेकाले जस्तोसुकै चुनौतीलाई पन्छाएर जित सुनिश्चित गर्ने ढकाल बताउँछन ।
यसपटकको निर्वाचनमा जित्नैपर्ने पार्टी दबाब रहेका काङ्ग्रेसका उम्मेदवार भँडेललाई विगतको तुलनामा पार्टीको मत बढाउनैपर्ने चुनौती रहेको छ ।
गत निर्वाचनमा आफ्नै पार्टीका मतदाताहरुले अन्तर्घात गरेका कारण पराजय भोग्नुपरेको दाबी गर्दै काङ्ग्रेस उम्मेदवार भँडेलले यसपटक कुनै अन्तर्घात नहुने भएकाले जित सुनिश्चित रहेको दाबी गरे ।
यसपटक राप्रपा संयुक्त समर्थन गर्नका लागि छलफल भइरहेको उनको भनाइ छ । राप्रपा संयुक्तको समर्थन रहे भारी मतान्तरले जित्ने उनको भनाइ छ ।
विसं २०७० को संविधानसभा निर्वाचनमा भक्तपुर–१ बाट नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेसँग पराजित भएका भँडेललाई यसपटक भने नेकपा चुनौती बनेको छ ।
यता नेमकिपाले पनि आफ्नो पुरानो विरासत कायम गर्छौ भन्दै यसपटकको प्रदेशसभा निर्वाचनमा पहिलो पार्टी हुने दौडमा लागेको छ ।
भक्तपुरमा दशकौँदेखि पकड जमाएको नेमकिपा प्रदेश निर्वाचन क्षेत्रमा पनि पकड जमाउने कसरतमा छ ।
यसअघिको प्रदेशसभा निर्वाचनमा पनि उम्मेदवार रहेर तेस्रो स्थानमा चित्त बुझाएको लवजूलाई नेमकिपाले यसपटक पुनः उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा ल्याएको छ ।
राष्ट्रियताको नारा लिएर सत्तामा बसिसकेका दलहरुको भण्डाफोर अभियान सञ्चालन गरेर मत माग्ने भन्दै प्रतिस्पर्धामा उत्रिएको नेमकिपाको भनाइ छ ।
अर्को उम्मेदवार नपाएर नभई पार्टीका युवा, जुझारु, बौद्धिक वर्गको उम्मेदवार भएकाले यसपटक पनि लवजूलाई नै दोहो¥याएको नेमकिपाको भनाइ छ ।
विगतमा चौथो शक्तिका रुपमा रहेको राप्रपा ९संयुक्त० को उम्मेदवार रामशरण लामिछानेको समानुपातिक बन्द सूचीमा समेत नाम रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी रद्द गरेपछि यो निर्वाचनमा राप्रपा संयुक्तको उम्मेदवारी रहेन ।
त्यसैगरी यस क्षेत्रमा उम्मेदवारी दिएका साझा पार्टीका सुरज प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाल, नेकपा मालेका सुदर्शन लामिछाने, नेपाली काङ्ग्रेस ९बिपी०का मधुसुदन न्यौपाने, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा, समाजवादी पार्टीका सुदर्शन कुमार पनि चुनाव प्रचार अभियानमा लागेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवारहरु सुजाता देउजा, अर्जुन कोजू, कृष्णराम पोतामाहा, राकेश सुवाल, सङ्गीता पौडेल, उत्तम साखकर्मी, जीवन नेपाली, कृष्णप्रसाद ह्योगो, जीवनचन्द्र अधिकारी, सुमना कार्कीले उम्मेदवारी दिएका छन् ।