बेझाड: पाल्पा जिल्लामै पहिलोपटक रामपुरमा उत्पादन भएको साइलेज (घाँसलाई गुन्द्रक बनाउने) को माग बढ्दो छ ।
यहाँ उत्पादन भएको साइलेज अहिले विभिन्न जिल्लामा खपत हुने गरेको छ । साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ ।
पशु आहारका लागि राम्रो मानिने साइलेज जिल्लाको रामपुर नगरपालिकामा उद्योग नै सञ्चालन गरी उत्पादन थालिएको हो । प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको रु २५ लाख र कामधेनु गाई फार्मको रु २५ लाखको सहकार्यमा साइलेज उत्पादन शुरु गरिएको हो । यसै वर्ष रामपुरमा स्थापना गरिएको सो उद्योगमा हालसम्म करिब रु एक करोड जति लगानी भएको छ ।
दुई सय रोपनी जग्गा भाडामा लिएर लगाइएको मकैको घाँसबाट साइलेज बनाउन थालिएको छ । साइलेज पशुलाई खुवाएमा दूध उत्पादन वृद्धि हुने, पशुको नश्ल सुधार हुने हँुदा पशु उत्पादन राम्रो मानिन्छ । सुक्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हँुदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने गरेकोले ठूला तथा साना पशु व्यवसायीका लागि सजिलो पर्नेछ ।
“परीक्षणका रुपमा पहिलोपटक उत्पादन गरिएको साइलेज राम्रो भएपछि अहिले धेरै माग आएको छ, ठूला ठूला व्यावसायिक फार्ममा बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो । यहाँ उत्पादन भएको साइलेज प्रतिकिलो रु १२ मा बिक्री भइरहेको छ । साइलेजको माग बढ्न थालेपछि जग्गा थप गरेर उत्पादन बढाउने र यहाँ उत्पादन भएको साइलेजले ५ नम्बर प्रदेशलाई पु¥याउने अर्का सञ्चालक रामप्रसाद पोखरेलले बताए ।
“साइलेजको माग बढेकाले जग्गा बढाएर उत्पादन बढाउने र बाहिरबाट ठूलो परिमाणमा भित्रने साइलेजलाई निरुत्साहित गर्ने अभियानका साथ व्यवसायमा लागेका छौँ”, पोखरेलले भने । बाहिरी जिल्लामा ढुवानीसहित प्रतिकिलो रु १३ मा फार्ममै साइलेज पु¥याउने सुबिधा र उत्पादित साइलेज राम्रो भएपछि ठूला पशुफार्म व्यवसायी रामपुरको साइलेजमा आकर्षित हुन थालेका हुन् ।
रामपुरका अगुवा भँैसीपालक कृषक कृष्णकुमार अर्यालले यसभन्दा अगाडि आफ्नै ढुवानीमा प्रतिकिलो रु १५ मा भारतको पन्जाबबाट साइलेज खरीद गरेर पशुुलाई खुवाउँदै आएका थिए । रामपुरमै उत्पादन भएपछि साइलेज खरिदका लागि अन्यत्र भौतारिनु नपरेको अर्याल बताउछन् ।
प्रदेश नं ५ का १२ जिल्लामै सानासाना मेशिनबाट साइलेज उत्पादन गरिँदै आए पनि ठूलो उद्योगको रुपमा भने रुपन्देही र पाल्पामा मात्र शुरु भएको उहाँको भनाइ छ । दैनिक दुई किलो साइलेज पराल, दानापानीमा मिलाएर पशुलाई खुवाउन सकिन्छ । सुक्खा मौसममा हरियो घाँसको अभाव हुने हुँदा साइलेज बनाएर राखियो भने पशु आहाराका लागि उत्तम मानिन्छ । यो उत्पादन गरिएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
साइलेज खुवाएको पशुबाट प्रशस्त दूध उत्पादन, पशु वृद्धि, पोषणयुक्त हुने हुदा साइलेजप्रति कृषकको आकर्षण बढेपनि उत्पादन कम हँुदा पु¥याउन समस्या परेको छ । आमाको दूध खाँदै गरेका बाँच्छाबाँच्छी तथा पाठापाठीबाहेक यो भेडा, बाख्रा, गाईभैसीलाई खुवाउने गरिन्छ ।
साइलेज उत्पादन शुरु गर्न थालेपछि अब यस क्षेत्रमा बाँझिएका जग्गा सदुपयोगमा आउन थालेका छन् । रामपुरमा नयाँ प्रविधिका रुपमा साइलेज उत्पादन शुरु भएपछि पशुपालन गर्ने कृषकलाई व्यवसायमा हौसला मिलेको छ ।