भीमदत्तनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीका ज्ञानेन्द्र बोहरा दैनिक छ किलोमिटर हिँडेर विद्यालय जान्छन् । बस्तीमा रहेको विद्यालय माविस्तरको नहुँदा उनीजस्तै त्यहाँका अन्य विद्यार्थी पनि दैनिक छ किलोमिटर हिँडेर विद्यालय जान बाध्य छन् ।
भौगोलिक रुपले विकट मानिएको खल्ला मसेटीमा सार्वजनिक सवारीसाधनको पहुँच नहुँदा त्यहाँका विद्यार्थीले दैनिक छ किलोमिटर हिँडेर विद्यालय जानुपरेको बोहराले बताए । कक्षा ९ मा अध्ययनरत ज्ञानेन्द्र बोहराले थपे, “आफूहरु चुरेफेदको डरलाग्दो बाटोबाट जोखिम मोलेर भएपनि अध्ययनका लागि दैनिक छ किलोमिटर हिँडेर ब्रह्मदेवस्थित सिद्धनाथ मावि जाने गर्छै ।”
“जङ्गलको बाटो, माथि भीर तल महाकाली हिँड्नै गाह्रो हुन्छ”, उनले दुखेसो पोख्दै भने, “ खल्ला मसेटी गाउँमा यो पालिदेखि कक्षा ८ सम्मको अध्ययन हुँदैछ ।” बोहराले विगतमा माविस्तरको अध्ययन गाउँमा नहुँदा धेरै विद्यार्थीले स्कूल छाडेको तितो एथार्त पोखे ।
“गाउँ पूरै आर्थिकरुपले विपन्नले भरिएको छ”, उहाँले भन्नुभयो, “सडक सञ्जाल विस्तारको क्रममा रहे पनि गाउँमा बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार पुग्न सकेका छैनन् ।” त्यसैगरी विद्यालयबाट घर फर्किरहेको अवस्थामा बाटोमा भेटिनुभएकी विद्यार्थी सङ्गीता चन्दले अध्ययनका लागि निकै सास्ती खेप्नु परिरहेको पिडा व्यक्त गरिन ।
“जङ्गल छेउको बाटो भएकाले गाउँका विद्यार्थी जम्मा भएर अनि स्कूल जान्छौँ”, चन्दले भने, “छात्रालाई एक्लै आउन जानसमेत समस्या छ।” वर्षात्का बेला घरबाट स्कूल जान हिँडेका खल्ला मसेटीका विद्यार्थी ब्रह्मदेव आउँदाबीचमा पर्ने भिमेरीगाड खोलाको बाढीले घर फर्किनुपर्ने अवस्था आउने गरेको विद्यार्थी बोहराले बताए ।
विगत तीन वर्षदेखि ब्रह्मदेव अध्ययनका लागि आइरहेकी चन्दले सडक र यातायात सुविधा नहुँदा विद्यार्थी अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको बताए ।
“गाउँमा रहेको भीमदत्त स्मृद्धि आधारभूत विद्यालय स्तरोन्नति हुनसके हामीले यतिधेरै दुखः गर्नुपर्ने थिएन”, चन्दले भने, “हामीलाई सिंहदरबार होइन, गाउँमै स्कूल चाहिएको छ ।”
चन्दले थपे, “गाउँमा मावि तहसम्मको विद्यालय छैन, अटो तथा सार्वजनिक भाडाका साधन पनि गाउँमा चल्दैनन् तर पनि पढ्नकै लागि गाउँबाट ६ किलोमिटर हिँडेर ब्रह्मदेव आउनैपर्ने बाध्यता छ ।”
भीमदत्तनगरपालिका–९ का वडाध्यक्ष राम नाथले खल्लाम सेटीमा रहेको विद्यालय स्तरोन्नतिका लागि स्थानीय तहले पहल गरिरहेको बताए।