काठमाडौं : ग्लोबल आईएमई बैंक र जनता बैक मर्ज भई आजदेखि एकिकृत कारोबार सुरु गरेको छ ।
मर्जरसंगैं ग्लोबल आइएमई बैंक , नेपालकै सबैभन्दा ठुलो पुँजी भएको वित्तीय संस्था बनेको छ ।
एकिकृत कारोबारको शुभारम्भ गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालकै ठुलो बैंक बनेसंगैं यसलाई देशको आवश्यकता अनुसार ठुला पुर्वाधारमा लगानी गर्न एउटै बैंक सक्षम भएको बताएका छन ।
उनले भने, ठुलो बैंक बनेसंगैं यसले व्यवस्थापकिय कुशलतालाई ध्यान दिइ व्यवसायिक हितसंगैं आन्तरिक प्रगतितर्फ लाग्नुपर्छ ।
बैंकको सञ्चालक धनी हुँदै जाने तर उद्योगी व्यवसायीको हिततर्फ ध्यान नदिइृ बढी व्याजमा लगानी गर्दा दीर्घकालमा बैंकको विकास नहुने उनको भनाइ छ ।
खतिवडाले बैंकको व्याजदरको फरकलाई कम गर्न बिग मर्जरले सहयोग हुने भन्दै उचित व्याजदरमा लगानी गर्न आग्रह गरे ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंक तथा वित्तीय क्षेत्रमा सूचना प्रविधिको चुनौती थपिँदैं गएकोले वित्तीय संस्थाले सुरक्षित बैंकिङ्ग कारोबारका लागि सूचना प्रविधिमा लगानी बढाउनुपर्ने उल्लेख गरे ।
बैंकका कर्मचारीले बैंकको चेकबुक कसलाई दिने भन्ने समेत जानकारी नहुँदा बैंकमा समस्या भएकोले कर्मचारीलाई पेशागत ज्ञानमा दक्ष बनाउन तालिम दिनुपर्ने उनले बताए ।
मानव संशाधन व्यवस्थापनमा समेत राष्ट बैंकले हस्तक्षेप गर्नुपर्ने अवस्था आउन नदिन बैंक व्यवस्थापकले ध्यान दिनुपर्ने उनले बताए ।
त्यस्तै बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्र ढकालले बैंक व्यवस्थापनमा सुशासन कायम गर्ने बताए । बैंंकले दीर्घकालिन आयोजनाका क्षेत्रमा समेत लगानी बढाउने उनले बताए ।
यसअघि दुई बैंकले असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।
दुबै बैंकबीचको सबै मर्जर प्रक्रिया सहित शेयर स्वाप रेसियो १००ः८५ अनुपातमा टुंगिएपछि हिजो बिहीबार दुवै बैंकको कारोबार बन्द गरिएको थियो। साथै मर्जरपछि जनता बैंकले आफ्ना ग्राहकलाई नयाँ खाता खोल्न समेत सूचना जारी गरिसकेको छ ।
एकीकृत बैंकको नाम ग्लोबल आईएमई नै रहेको छ भने चन्द्र ढकाल सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहेका छन ।
सात सदस्यीय नयाँ सञ्चालक समितिमा ग्लोबलबाट पाँच र जनताबाट दुई जना रहनेछन्।
यस बैंकको कूल चुक्ता पूँजी १८ अर्ब ४३ करोड कायम भएको छ भने दुबै बैंकले गत आवको मुनाफाबाट पारित गरेका बोनस पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब कायम हुनेछ।
मंसिर २ गते सम्पन्न ग्लोबलले साधारण सभाले गत आर्थिक वर्ष ०७५र७६ को मुनाफाबाट १२.७५ प्रतिशत र जनताले ६ प्रतिशत बोनस पारित गरिसकेका छन्।
यस्तै बैंकका प्राथमिक पूँजी २४ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा लगानी १ खर्ब ९४ अर्ब, ८४० सेवा केन्द्र (३०० शाखा कार्यालय, २५९ एटीएम र २४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर सहित) ३ हजार २०० कर्मचारीबाट २० लाख ग्राहकलाई सेवा प्रदान गर्ने भएको छ।
ग्लोबल आईएमई बैंक जनता सहित कूल १९ संस्थाको सम्मिलित संस्था भएको छ। यसअघि ग्लोबलमा ११ र जनतामा ७ संस्था मिलेका थिए।
ग्लोबलले मुनाफा बाहेक पूँजी, निक्षेप, कर्जा लगानी, शाखा कार्यालय, कर्मचारी लगायत सबै सूचकमा सबै वाणिज्य बैंकहरुलाई पछाडि पारेको छ।
मुनाफाका आधारमा भने यो बैंक, राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकभन्दा पछाडि छ। प्रथम त्रैमासमा ग्लोबलको ७५ करोड ३१ लाख र जनताको ३६ करोड ६९ लाख गरि कूल एक खर्ब १२ अर्ब मुनाफा रहेको छ।