काठमाडौँः ग्याँस रिफाइनरी प्लान्टको सम्भाव्यता अध्ययन गर्न १३ वटा कम्पनीले आवेदन दिएका छन ।
नेपाल आयल निगमले अघि बढाएको झापा र जनकपुरको ग्यास प्लान्टको सम्भाव्यता अध्ययन इरान, भारत, चीन र पाकिस्तान लगायतका १३ वटा कम्पनीले प्रस्ताव पेस गरेको निगमका नायब कार्यकारी अधिकृत सुशिल भट्टराईले जानकारी दिएका छन् ।
निगमले आह्वान गरेको टेण्डरपछि ती कम्पनीले प्रस्ताव पेस गरेका हुन् । झापाको चारआलीमा बन्ने ग्यास प्लान्ट सम्भाव्यता अध्ययन गर्न ७ कम्पनी र जनकपुरका लागि ६ वटा कम्पनीले प्रस्ताव पेश गरेको उनले बताए ।
उक्त प्रस्तावहरुको मुल्यांकन गरी केही हप्ताभित्र निगमले कम्पनी छनौट गर्ने र यही आर्थिक वर्षभित्र ग्याँस प्लाण्टको निर्माण कार्य सुरु गर्ने पनि उनले जानकारी दिए ।
निगमले कम्पनीले पूर्वाधारको लागत, अग्निसुरक्षा प्रणाली, माटो परीक्षण, वातावरणीय मूल्यांकन, सबै प्रकारको इन्जिनियरिङ डिजाइनजस्ता विषयमा अध्ययन प्रतिवेदन तयार गर्ने कार्यादेश हुनेछ ।
ग्यास भण्डारणका लागि निगमसँग कुनै पूर्वाधार नभएपछि निगमले झापा र जनकपुरमा कम्तीमा ३(३ हजार टन क्षमताका प्लान्ट बनाउने योजना अघि बढाएको हो ।
खाना पकाउने ग्याँस सर्वसुलभ रुपमा उपभोक्तामाझ पुर्याउने र अतिआवश्यक वस्तुको विक्रि वितरणमा सरकारको सहभागीता आवश्यक हुनेहुँदा निगमले आफ्नै लोगो अंकित ग्याँस सिलिण्डर समेत विक्रि वितरण गर्न खोजेको भट्टराईले बताए ।
भट्टराईले भने, निगमको उद्देश्य बजार हस्तक्षेप गर्ने नभइ, बजारमा व्यवसायीद्धारा समय समयमा हुने कृत्रिम अभाव हटाउनु र व्यवसायीलाई ग्याँस विक्रिवितरणमा बढी जिम्मेवार बनाउनु नै हो ।
निगमले विभिन्न तौलका सिलिण्डर बजारमा ल्याउने जनाएको छ ।
ग्याँस प्लाण्टबाट उद्योगी व्यवसायीलाई समेत ठुलो मात्रामा ग्याँस उपलब्ध गराउने समेत उनले जानकारी दिए ।