काठमाडौँ: १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र प्रशिक्षकलाई आज नागरिक अभिनन्दन गरिने भएको छ ।
देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानका लागि नगर परिक्रमा गराएर शुक्रबार नागरिक अभिनन्दन गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
परिषद्का अनुसार, अहिले बिहान ११ बजेबाट नगरपरिक्रमा कार्यक्रम सुरु हुँदैछ । जसअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरबाट सुरु हुने नगर परिक्रमा न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ । परिषद्का अनुसार, खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दन त्यहाँबाट पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर समापन हुनेछ ।
राखेपले खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर खेलाडीको हौसला वृद्धि गरिदिन सबैमा आग्रह गरेको छ ।
१३ औं साग गत डिसेम्बर १ देखि १० गतेसम्म नेपालमा आयोजना भएको थियो । प्रतियोगितामा नेपालले ५१ स्वर्ण हासिल गर्दै यो प्रतियोगितामा अहिलेसम्मकै धेरै पदक जितेको थियो ।