भद्रपुर: प्रवीणता प्रमाणपत्र तह हटाइएपछि विद्यार्थी घटेर सात सयमा खुम्चिएको पूर्वकै पुरानो मेची बहुमुखी क्याम्पसमा अहिले विद्यार्थी बढेर तीन हजार हाराहारी पुगेको छ । शैक्षिक उन्नयनमा क्याम्पसको चमक बढिरहेको यो दरिलो प्रमाण हो । पचपन्न वर्षअघि स्थापित झापाको पहिलो उच्चशिक्षा प्रदायक संस्था मेची बहुमुखी क्याम्पसमा समयानुकूल शैक्षिक र भौतिक सुधार गर्ने कार्य सफलतापूर्वक अघि बढेपछि विद्यार्थी आकर्षण वृद्धि भएको क्याम्पसका प्रमुख कमलप्रसाद गुरागाईं बताउछन् ।
गुरागार्इंका अनुसार भद्रपुर हाइस्कुलको एउटा कोठामा सन्ध्याकालीन पठनपाठन गराएर विसं २०२१ असोज १२ गते सञ्चालित मेची इन्टरकलेज नै त्रिभुवन विश्वविद्यालयसँग आङ्गिक क्याम्पसका रुपमा सम्बन्धन प्राप्त हालको मेची बहुमुखी क्याम्पस हो । पछिल्लो समयमा विश्वभर प्राविधिक र व्यावसायिक शिक्षाप्रति विद्यार्थीको रुचि बढ्दै गएको छ । यही आवश्यकता मनन गरी रोजगारीमूलक विषयको छनोट, अनुकूल शैक्षिक वातावरण र सुविधासम्पन्न भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको मेची बहुमुखी क्याम्पसप्रति विद्यार्थीको आकर्षण ह्वात्तै बढेको हो ।
मेची बहुमुखी क्याम्पसमा हाल आठ विषयमा स्नातक तह र पाँच विषयमा स्नातकोत्तर तहको पठनपाठन भइरहेको छ । एउटै छानामुनि यति धेरै विषयको पठनपाठन गराउने अर्को क्याम्पस मेची अञ्चलमा छैन । सहायक क्याम्पस प्रमुख जीवन पोखरेलले बिबिए(ब्याचलर इन बिजनेश एडमिनिष्टे«शन), बिसिए(ब्याचलर इन चार्टर एकाउण्टेन्सी) र बिएस्सी सिएसआइटी(कम्प्युटर साइन्स एण्ड इन्फर्मेशन टेक्नोलोजी) जस्ता विश्व जनशक्ति बजारमा सजिलै बिक्ने लोकप्रिय विषयको पढाइ हुने गरेको जानकारी दिए । विसं २०५५ देखि नेपाली विषयमा स्नातकोत्तर तहको पठनपाठन शुरु गरिएको यस क्याम्पसमा हाल समाजशास्त्र, अर्थशास्त्र, अङ्ग्रेजीलगायत विषयमा स्नातकोत्तर कक्षा सञ्चालन भइरहेको उनले बताए ।
भद्रपुर–८ को १६ बिघा परिसरमा रहेको सो क्याम्पसमा मानविकी र व्यवस्थापन सङ्कायको पठनपाठन एउटै भवनबाट हुँदै आएको छ । विज्ञान सङ्कायको भवन भने अलग्गै छ । क्याम्पसको पठनपाठन र प्रशासनिक क्रियाकलाप लामो अवधिसम्म पुरानो भवनबाट सञ्चालन हुँदै आएको थियो । अब प्रशासनिक काम र पठनपाठन अलगअलग भवनबाट गर्न सकिने गरी नयाँ भौतिक संरचना थपिन थालेको छ ।
प्राध्यापकलगायत १२३ जना अध्यापनरत रहेको यहाँ इ–लाइब्रेरी, छात्रावास, कर्मचारी आवासगृह, खेलमैदान, उद्यान, पार्किङस्थल, खाजागृहलगायत सुविधा छ । क्याम्पसलाई सूचना प्रविधिमैत्री बनाइनाका साथै सिसीटिभी क्यामेराको सुरक्षित निगरानीमा राखिएको छ । शैक्षिक वातावरण शान्त र सुरक्षित बनाउन क्याम्पस परिसरलाई बलियो पर्खालले घेराबेरा गरिएको छ । यहाँ चौबीस घण्टा पहरा दिनका लागि पर्याप्त चौकीदार तैनाथ गरिँदै आएको छ ।
विद्यार्थी बढ्न थालेपछि क्याम्पसले मानविकी, व्यवस्थापन र विज्ञान सङ्कायका अलगअलग भवनबाट पठनपाठन गराउने नीति लिएको छ । हालको मानविकी भवनलाई व्यवस्थापन सङ्कायको भवनमा परिणत गर्ने र नयाँ मानविकी भवन बनाउने क्याम्पसले जनाएको छ । विज्ञान सङ्कायको अलग भवन छँदैछ ।