काठमाडौं: साढे ३३ केजी सुन तस्करीमा संलग्न भनिएको तर हालसम्म पनि फरार अवस्थामा रहेका नेपाल प्रहरीका एसएसपी श्याम बहादुर खत्रीले जिल्ला अदालत मोरङसमक्ष विहिबार आत्मसमर्पण गरेका छन् ।
छानविन समितीका संयोजक ईश्वरराज पौडेलका अनुसार खत्रीले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन्, ‘फरार एसएसपी खत्री अदालतमा उपस्थित आज कार्यालय समयमा उपस्थित भएका छन् ।’
उनको आजै थुनछेक बहस हुने बताइएको छ ।
सुन तस्करीबारे छानविन गर्न बनेको समितिले काम सुरु गरेपछि खत्री फरार रहँदै आएका थिए । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा कार्यरत खत्रीलाई सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समितिले खोजिरहेको थियो ।
सुन तस्करीमा संलग्न मुख्य नाइके भनिएका चुडामणी उप्रेती ‘गोरे’ पक्राउ परेपछि उनले एसएसपी खत्रीलाई नियन्त्रणमा लिएमा सुनको सबै नेक्सस खुल्ने बयान दिएका थिए ।
२०७४ फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ले ल्याएको भनिएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाटै बाहिरिएको थियो । दुबईबाट त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको उक्त सुन लुटिएपछि गोरेको समूहको यातनाका कारण सुनका भरिया सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो ।
सनमको हत्यापछि ३३ किलो सुन तस्करीबारे छानविन गर्न बनेको समितिले नेपाल प्रहरीका उच्च अधिकारी सहित ६३ जनलाई प्रतिवादी बनाएर मोरङ जिल्ला अदालतमा संगठित अपराध, अपहरण तथा शरीर बन्धन र कर्तब्यज्यान मुद्धा दर्ता गरेको थियो । जुन मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामा छ ।
यसअघि नै अदालतले पक्राउ परेका पूर्व डिआईजी गोविन्द निरौला, बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकारराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायका अधिकांश प्रतिवादीलाई पुर्पक्षका लागि जेल चलान गरिसकेको छ । यस्तै गोरे पनि जेल चलान भएका छन् ।