काठमाडौं : एनएमबि लघुवित्त र लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन हो ।
कात्तिक २४ गतेदेखि निष्कासन गरेको हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिनेछ ।
एमएमबि लघुवित्तले चुक्ता पूँजी वृद्धि गर्न १० बराबर १५ कित्ता शेयरको अनुपातमा हकप्रद निष्काशन गरेको हो।
हकप्रद निष्काशनका लागि लघुवित्तले कार्तिक ७ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेकाले कात्तिक ६ गते सम्म कायम रहेका लघुवित्त कम्पनीका शेयरधनीहरुले मात्र लघुवित्तको हकप्रद पाउनेछन्।
लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, सनराइज बैंकको शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।
हकप्रद भर्न पाउने शेयर कित्ताको अनुपात सनराइज क्यापिटल तथा एनएमबि लघुवित्तको आधिकारिक वेवसाइट तथा मेरो शेयरबाट हेर्न सकिने बताइएको छ ।
हाल १६ करोड २० लाख ६ हजार २५० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको यस हकप्रद निष्काशनपछि ४० करोड ५० लाख १५ हजार ६२५ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।
त्यसैगरी, बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले निष्कासन गरेको २० प्रतिशत हकप्रद शेयरमा पनि आवेदन दिने आज अन्तिम दिन हो।
इन्स्योरेन्सले एकसय रुपैयाँ अकिंत दरमा १७ लाख ६० हजार कित्ता हकप्रद बिक्रीमा ल्याएको हो। हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल रहेको छ।
इन्स्योरेन्सको हकप्रदमा असोज २६ गतेसम्म कायम शेयरधनीहरुले मंसिर २९ गतेसम्म आवेदन गर्न सक्नेछन्।
हकप्रदमा आस्वा सदस्यता लिएका सबै बैंक तथा वित्तीय संस्थाको साथै मेरो शेयर सफट्वेयर र बिक्री प्रबन्धक सिबिआईएल क्यापिटलको कार्यालय डिल्लीबजार बाटुलेघर र सिटिजन्स बैंकका देशभरीका सबै शाखाका आवेदन गर्न सकिन्छ।
हाल ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको २० प्रतिशत हकप्रद पश्चात १ अर्ब ५ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।