काठमाडौं : नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आज (आइतबार) बस्दैछ ।
अस्ति शुक्रबार बोलाइएको बैठकमा रामचन्द्र पौडेल पक्षधर नेताहरु अनुपस्थित भएपनि बैठक आजलाई सारिएको थियो ।
आजको बैठकमा पनि बरिष्ठ नेता पौडेल पक्षधर केन्द्रीय सदस्य बैठकमा सहभागी नहुने भएका छन् ।
आफ्ना मागहरु सभापतिले सम्बोधन गर्ने दिशामा अघि नबढेको तथा पार्टीलाई एकलौटी ढंगले अघि बढाउन खोजेको भन्दै बरिष्ठ नेता पौडलले नेतृत्वको आलोचना गर्दै आएका छन् ।
उनलाई मनाउन शेरबहादुर देउवा पनि लागि परेका छन् । देउवा हिजो (शनिबार) दिउँसो पौडेल निवास बोहराटार पुगेका थिए ।
उपसभापति बिमलेन्द्र निधिसहितका नेताहरु बोहराटारमा एकघण्टा भन्दाढी समय बसेर छलफल गरेपनि सहमति जुटेको छैन् ।
पौडेलले १४ औ महाधिवेशनको कार्यतालिकालाई बैठकको मुख्य एजेन्डा बनाउनुपर्ने माग गर्दै आएका छन् । यो विषयमा दुवै पक्षबीच सहमति भएपनि बैठकको एजेन्डामा १४ औं महाधिवेशनको विषय समावेश नगरेकाले बैठकमा सहभागि नहुने नेता पौडेलले बताए ।
पौडेल समूहमा रहेका २५र२६ जना आज बोलाइएको बैठकमा नजाने भनेपछि केन्द्रीय समिति बैठक अन्यौलमा परेको छ । उनीहरुले बैठकको कार्यसूची अघि नै तय गर्नुपर्ने नभए बैठकमा सहभागी नहुने पौडेल पक्षधर नेताहरुको अडान छ ।
यद्यपी संस्थापन पक्षले पनि सबैलाई मिलाएर बैठक सञ्चालन गर्ने तयारी गरेको छ । आजै उपसभापति निधि र महामन्त्री शशांक कोइरालाबीच भेटवार्ता भएको छ । छलफल सकारात्मक भएको र दुवै पक्षबीच नेविसंघ, तरुण दल, केन्द्रीय विभाग गठन तथा १४ औं महाधिवेशनको कार्यतालिकाका सहमति जुटाउन प्रयास रत रहेको नेताहरुको दाबी छ ।
यसैबीच कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठक भने सञ्चालन हुने बताएका छन् ।
उनले असहमतिका बुँदामा सहमति खोजिने र बैठकमा छलफल अघि बढाउने बताए । बैठकमा प्रस्तावमाथि बैठकमा छलफल हुने शर्माले बताए।