काठमाडौं : एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक बसेको छ ।
बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको छ ।
पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्छ। यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन।
पहिलो पटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा स्थायी कमिटीको बैठक बसेको हो ।
बैठकमा अर्का अध्यक्ष केपी ओली भने सहभागी भएका छैनन् । ओली अनुपस्थित भएपछि उनको कुर्सीलाई खाली राखेर बैठक शुरु गरिएको छ ।
सचिवालयका नेताहरु स्थायी कमिटी सदस्य तर्फ फर्कने गरी मेचहरु राखिएको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल पनि बैठक शुरु भएपछि मात्र पुगेका थिए ।
ओली आज विहान बसेको नेकपा सचिवालय बैठकमा भने केही बेर सहभागी भएका थिए ।
आज विहान बसेको सचविालयले तय गरेको पाँच एजेण्डामाथि स्थायी कमिटी बैठकमा छलफल हुदैँछ ।
‘प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक, नेपाल भारत सीमा समस्या र विविध भनेर बैठकका लागि पाँच वटा कार्यसूची तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन ।
एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मंसिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक तोकेको थियो।
मंसिर २७ मा सचिवालय बैठक बस्ने भनिए पनि अध्यक्ष पुष्पकमल दाहालले बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार पार्न ढिलाइ भएका कारण बैठक सर्दै आएको थियो।
अध्यक्ष दाहालले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनका विषयमा शनिबार अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए।
दुई अध्यक्षबीच स्थायी समिति बैठकमा लग्ने एजेन्डा र दाहालले तयार पारेको राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर छलफल भएको बालुवाटार स्रोतले बतायो।
एक वर्षपछि बस्न लागेको स्थायी समिति बैठकलाई शीर्ष नेतृत्वले दुई दिनभित्र पार्टीका संगठनात्मक काम र आगामी योजनाको निर्णय लिएर सक्ने तयारी छ।