काठमाडौं : नेपालले यसवर्ष भ्रष्टाचार व्याप्त मुलुकहरुमध्ये ११३ औं स्थानमा रहेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) द्वारा आज बिहीबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१९ का अनुसार नेपालले मात्रै ३ अंकको सुधार गरेको छ ।
‘सीपीआई २०१९ मा नेपालका लागि समाविष्ट विभिन्न ६ संस्थाले गरेका सर्वेक्षणका विविध आयाममध्ये सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टाचार विरोधी निकायहरुको कारबाही, न्यायपालिकाका काम–कारबाही, कर असुली सम्बन्धित निर्णयहरू, सुरक्षा निकायहरु खासगरी नेपाली सेनामा सदाचारको पहल लगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणहरुले नेपालको स्कोरमा केही सुधार आएको सर्वेक्षणले ईंकित गरेको देखिन्छ,’ ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
‘तर पनि सरकारको भ्रष्टाचार विरोधी प्रतिवद्धता अनुरुप कार्यान्वयन नहुनु, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरुपयोग यथावत रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राज्य सञ्चालनमा सीमित समुहको पकड रहनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गंभीर नहुनुजस्ता दीर्घकालीन समस्याहरुमा सुधार हुन सकेको छैन। यसकारण सुचकाङ्कमा केही सुधारका बावजुद नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकहरूको श्रेणीमै रहेको छ ।’
विगत १ वर्षमा ९सन् २०१८÷१९० विश्व बैङ्क, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट, र भीडीइएमसमेत गरी ६ वटा संस्थाका सर्वेक्षणका आधारमा सीपीआई २०१९ मा नेपाललाई १०० मा ३४ अङ्क दिइएको छ।
गतवर्ष यस सूचीमा नेपालको अंक ३१ रहेको ट्रान्सपरेन्सीले जनाएको छ। गत वर्ष भने नेपाल १२२ औं स्थानमा रहेको थियो ।
सीपीआई २०१९ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २५औं स्थान, भारत ४१ अङ्क प्राप्त गरी ८०औं स्थान, श्रीलङ्का ३८ अङ्क प्राप्त गरी ९३औं स्थान, पाकिस्तान ३२ अङ्क प्राप्त गरी १२०औं स्थान, मालदिभ्स २९ अङ्क प्राप्त गरी १३०औं स्थान, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४६औं स्थान र अफगानिस्तान १६ अङ्क प्राप्त गरी १७३औं स्थानमा रहेका छन्।
छिमेकी मुलुक चीनले ४१ अङ्क प्राप्त गरी ८०औं स्थानमा रहेको छ।