काठमाडौं: बिहीबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनबाट १८ जना सांसद चुनिएका छन्। राष्ट्रियसभा निर्वाचनमा प्रदेश दुईमा नेकपा– राजपा र काँग्रेस समाजवादीबीच तालमेल भएको थियो । भने अन्य प्रदेशमा विशेषत नेकपा र काँग्रेसबीच प्रतिस्पर्धा भएको थियो ।
सातवटै प्रदेशसभाका ५ सय ५० जना सदस्यमध्ये ५ सय ४५ जनाले भोट हालेको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै, स्थानीय तहका १ हजार ५ सय ६ जनामध्ये १ हजार ४ सय ९५ जनाले मतदान गरेका छन्। जसबाट सत्तारुढ दलका १६ र प्रतिपक्षी राजपाका दुई जना विजयी भएका छन् ।
यता प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भने आज भएको राष्ट्रियसभा सदस्यकाको निर्वाचनमा यसअघि जितेका ७ र समाजवादीले १ सिट गुमाएको छ। यता नेकपाले भने राष्ट्रिय सभामा पहिलोको भन्दा ८ सिट बढोत्तरी गरेको छ। योसँगै नेकपाले राष्ट्रियसभा दुई तिहाइ बढी संख्या प्राप्त गरेको छ ।
गोलाप्रथाबाट दुईवर्षे कार्यकाल परेका कारण राष्ट्रिय सभाका १९ जना सांसद फागुनमा समय अवधि सकिँदैछ । नयाँ निर्वाचित सांसदहरुले फागुन २१ देखि मात्र जिम्मेवारी पाउनेछन्। ५९ सदस्यीय राष्ट्रिय सभामा अब नेकपा ४७, काँग्रेस ६, राजपा २, समाजवादी १ र मनोनीत ३ जाने हुने छन् ।
राष्ट्रियसभाको रिक्त १८ सिटका लागि बिहीबार भएको मतदानको सम्पूर्ण मतपरिणाम आएको छ । बिहीबार राति आएको नतिजाअनुसार नेकपा १६ सिट र राजपा २ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा काँग्रेसले भने एक सिट पनि जितेन र यसअघिको ७ सिट पनि गुमाएको छ निर्वाचन बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजसम्म मतदान चलेको थियो ।
आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको थियो । प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको थियो ।
गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्म पब्लिक मुक्तिनारायण उच्च माविबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।
५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसदको पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये बिहीबार १८ सिटका लागि मतदान भएको हो । प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता रहने यो निर्वाचनमा कुल मतभार ५३ हजार ५ सय ८ रहेको छ । चुनावका लागि ६ दलका ४५ जना उम्मेदवार मैदानमा थिए ।